राहत कोषबाट सरकारले तत्काल ३५ अर्ब परिचालन गर्न सक्ने

नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले आपतकालीन सहयोगका रूपमा बुधबार नै २५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिवाद्धता जनाए अनुसार सरकारलाई रकम प्राप्त भइसकेको छ । गैरआवासीय नेपाली संघले पाँच करोड राहत कोषमा सहयोग गर्ने निर्णय गरिसकेको छ । यस्तै कुमारी बैंकले तीन करोड रुपैयाँ सहयोग गरेको

राहत कोषबाट सरकारले तत्काल ३५ अर्ब परिचालन गर्न सक्ने

काठमाडौँ । सरकारले विपद् प्रभावित क्षेत्रमा ३५ अर्ब रुपैयाँ खर्च गर्न सक्ने गरी रकम जम्मा भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रहेको रकम तथा विश्व बैंकले दिएको २५ अर्बसहित ३५ अर्ब रुपैयाँ सरकारले परिचालन गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा राहत रकम जम्मा हुने क्रम सुरु भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार हालसम्म सानो–सानो रकममा सहयोग भएको छ । ठुला रकमको प्रतिवद्धता आइरहेका छन् ।

नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्लेनले आपतकालीन सहयोगका रूपमा बुधबार नै २५ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिवाद्धता जनाए अनुसार सरकारलाई रकम प्राप्त भइसकेको छ । गैरआवासीय नेपाली संघले पाँच करोड राहत कोषमा सहयोग गर्ने निर्णय गरिसकेको छ । यस्तै कुमारी बैंकले तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख र एक्स्ट्रम इनर्जी ड्रिङ्क्सले एक करोड रुपैयाँ राहत कोषमा जम्मा गर्ने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न देशबाट पनि सहयोगको प्रतिवद्धता आइरहेका छन् । भारतले दुई लट गरी ४७.५ टन बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गरिसकेको छ भने थप राहत दिने प्रतिवद्धता जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नै बुधबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई फोन गरेर भारत नेपालको साथमा रहेको प्रस्ट पार्दै हरेक प्रकारको सहयोग गर्न भारत तयार रहेको प्रतिवद्धता जनाएका छन् । आफ्नो प्रतिवद्धता अनुसार भारतले राहत सहयोग पठाउन सुरु गरेको छ ।

यता, चीन र अमेरिकाले पनि राहत सहयोगका लागि प्रतिवद्धता जनाएका छन् । नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेसलाई प्रदान गरेको वैश्विक अनुदानमार्फत ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) को सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

सो रकमले बाढीबाट प्रभावित समुदायहरूलाई आपत्कालीन आश्रय र राहत सामग्रीका साथै पानी, सरसफाइ र स्वच्छतामा मद्दत पुग्ने दूतावासले जनाएको छ । नेपालको रसुवा जिल्लामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको परिवार र आफन्तजनमा अमेरिकाले समवेदना पनि प्रकट गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपालमा आएको विपत्तिलाई नजिकबाट नियालिरहेको बताएको छ । राहत तथा उद्धारका लागि त्यस क्षेत्रमा एक विपत् प्रतिकार्य सल्लाहकार परिचालन गर्ने दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री तथा नगद सहयोगका लागि समन्वय गरिसकेको बताए । राजदूत झाङले चीन र नेपाल दुवैतर्फ मानवीय तथा अन्य भौतिक क्षति पुगेको उल्लेख गर्दै यो कठिन घडीमा चीन नेपालको साथमा उभिएको बताए ।

नेपालका लागि तत्काल आपत्कालीन राहत सामग्री र नगद सहयोगको समन्वय गरिसकिएको र आगामी दिनमा पनि यथाशक्य थप सहयोग उपलब्ध गराइने उनले सामाजिक सञ्जालमार्फत प्रतिबद्धता जनाएका छन् ।