काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रुपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो ।
ठमेल पर्यटन विकास परिषद्का तत्कालिन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालिन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन भएको घोषणा गरेका थिए । परिषद्का महासचिव पशुपति कँडेलले पर्यटकीय केन्द्र ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषदबिच सहकार्य गर्ने सहमति भएको जानकारी दिए ।
भेटमा ठमेल क्षेत्रको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, सडक बालबालिकाको उचित व्यवस्थापन तथा हकर्सको व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा छलफल भएको उनले बताए । भेटमा प्रमुख जिल्ला अधिकारी पौडेलले ठमेललाई थप व्यवस्थित बनाउन सुरक्षा निकायलाई आवश्यक रूपमा परिचालन गर्ने र परिषद्सँग प्रभावकारी समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
