काठमाडौं, २७ फागुन। नेपालमा हाल पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्र तथा काठमाडौं उपत्यकाका केही स्थानमा तुवाँलो देखिन सक्ने जनाइएको छ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यदेखि मध्यम बदली रहनेछ। बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।
