काठमाडौं, २७ फागुन। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। अब केही मतगणना मात्र बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
हालसम्म सार्वजनिक भएको परिणाम अनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि स्पष्ट अग्रस्थानमा देखिएको छ। रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत पाएको छ भने तेस्रो स्थानमा नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेकपाले ८ लाख ३ हजार ६२७ मत पाएको छ।
यस्तै, पाँचौँ स्थानमा रहेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गरेको छ भने छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २९ हजार ४५७ मत ल्याउँदै थ्रेसहोल्ड कटाएको छ।
समानुपातिकतर्फ हालसम्म एक करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ। प्रत्यक्षतर्फको नतिजा भने सोमबार नै सार्वजनिक भइसकेको थियो।
यसअघि राष्ट्रिय दल बनेका मधेशवादी दलहरू भने यसपटक निकै पछि परेका छन्। जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ७४ हजार ३०६ मत पाएको छ भने जनमत पार्टीले ७८ हजार ९४९ मत प्राप्त गरेको छ। जनमतभन्दा अघि रहेको राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ मत पाएको छ।
