रामेछापमा प्रभावकारी देखिएन मतदाता शिक्षा, प्रत्यक्ष तर्फ झन्डै ६ प्रतिशत बदर मत

रामेछाप । रामेछापा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रामेछापमा बदर मतको संख्या अपेक्षाभन्दा बढ...

रामेछापमा प्रभावकारी देखिएन मतदाता शिक्षा, प्रत्यक्ष तर्फ झन्डै ६ प्रतिशत बदर मत

रामेछाप । रामेछापा मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको छ । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रामेछापमा बदर मतको संख्या अपेक्षाभन्दा बढी देखिएको हो ।

जिल्लाका ९६ मतदान स्थलका २२८ मतदान केन्द्रमा प्रत्यक्ष तर्फ ८७ हजार ४२ मत खसेकोमा ५.७९ प्रतिशत भन्दा बढी अर्थात ५ हजार ४८ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले जानकारी दिए।
उनका अनुसार समानुपातिक तर्फ भने बदर मत कम भएको छ। जिल्लामा समानुपातिक तर्फ ८७ हजार ४९१ मत खसेकोमा ४.३५ प्रतिशत भन्दा बढी अर्थात ३ हजार ८०८ मत बदर भएको छ।
निर्वाचन अधिकारी लामिछानेले भने, “यो पटक रामेछापमा प्रत्यक्ष तर्फ धेरै मत बदर भयो। धेरै मतमा दुई चिन्हमा स्वस्तिक लगाइएको पाइयो। यसले मतदाता शिक्षामा अझै सुधार आवश्यक रहेको देखाउँछ।” जिल्ला निर्वाचन कार्यालयका अनुसार, २०७९ सालको निर्वाचनमा रामेछापमा औसत ५.३८ प्रतिशत मत बदर भएको थियो।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक मात्रै रहेको यस निर्वाचनमा कुल मतदाता संख्या १ लाख ८७ हजार ९५२ जना रहेका थिए । यो निर्वाचनलाई लक्षित गरि देशभर जस्तै रामेछापमा पनि फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको थियो ।