४० दिन सेवा गरेका निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई फागुन २८ गते सम्मानसहित बिदाइ गरिने भएको छ। निर्वाचन सुरक्षाका लागि अस्थायी रूपमा भ...

४० दिन सेवा गरेका निर्वाचन प्रहरीलाई सम्मानसहित बिदाइ गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई फागुन २८ गते सम्मानसहित बिदाइ गरिने भएको छ। निर्वाचन सुरक्षाका लागि अस्थायी रूपमा भर्ना गरिएका उनीहरूले ४० दिनको सेवा अवधि पूरा गरेपछि बिदाइ गर्न लागिएको हो।

प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरी परिचालन गरेको थियो भने सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी खटाएको थियो। फागुन २१ मा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको र मतगणनाको प्रक्रिया पनि सकिएको अवस्थामा उनीहरूलाई बिदाइ गर्ने तयारी गरिएको हो।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अवि नारायण काफ्लेले फागुन २८ गते देशभर निर्वाचन प्रहरीलाई ‘धन्यवाद पत्र’सहित बिदाइ गरिने जानकारी दिए। उनका अनुसार देशभर एकै दिन औपचारिक रूपमा उनीहरूलाई बिदाइ गरिनेछ।

सशस्त्र प्रहरी बलले पनि सोही दिन निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई बिदाइ गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले निर्वाचन सुरक्षामा परिचालित निर्वाचन प्रहरीलाई फागुन २८ गते बिदाइ गरिने जानकारी दिए।

निर्वाचन सुरक्षामा ४० दिन खटिएबापत सरकारले निर्वाचन प्रहरीलाई ३४ हजार ७७६ रुपैयाँ तलब उपलब्ध गराएको छ। यसका साथै रासन तथा आउजाउ खर्चबापत ८४६ रुपैयाँ दिइएको छ भने चार दिनका लागि दैनिक ३०० रुपैयाँका दरले खाजा खर्च पनि प्रदान गरिएको छ। पोसाक खर्चका लागि छुट्टै रकम उपलब्ध गराइएको प्रहरीले जनाएको छ। सेवा सुविधाको रकम किस्ताबन्दी रूपमा उपलब्ध गराइएको र अधिकांशले प्राप्त गरिसकेको तथा केहीले लिने प्रक्रियामा रहेको प्रहरी प्रवक्ता काफ्लेले बताए।

निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो। सुरक्षा अधिकारीहरूका अनुसार उनीहरूको सेवा सुविधामा करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च भएको छ। त्यसमध्ये नेपाल प्रहरीले मात्रै ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ भने सशस्त्र प्रहरीले करिब ७० करोड रुपैयाँ खर्च गरेको जनाएको छ।

निर्वाचन ड्युटीका क्रममा ११ जना निर्वाचन प्रहरी तथा दुर्घटनामा परेर नेपाल प्रहरीका एक जना असईको मृत्यु भएको थियो। ड्युटीका क्रममा ज्यान गुमाएका निर्वाचन प्रहरीका परिवारलाई सरकारले बिमा बापत २० लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेको प्रहरी प्रवक्ता काफ्लेले बताए।

त्यस्तै, ड्युटीका क्रममा बिरामी परेका निर्वाचन प्रहरीहरूको उपचार पनि सरकारले व्यवस्था गरेको जनाइएको छ।