फेसबुकमा ‘Monetization at Risk’ भन्दै आउने फेक मेसेजबाट होसियार

काठमाडौं, नेपालमा फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा २०२५ सेप्टेम्बरदेखि औपचारिक रूपमा सुरु भएपछि हजारौं क्रिएटरले रिल्स, भिडिओ, फोटो र टेक्स्ट पोस्टमार्फत आम...

फेसबुकमा ‘Monetization at Risk’ भन्दै आउने फेक मेसेजबाट होसियार

काठमाडौं, नेपालमा फेसबुकको कन्टेन्ट मोनिटाइजेसन सुविधा २०२५ सेप्टेम्बरदेखि औपचारिक रूपमा सुरु भएपछि हजारौं क्रिएटरले रिल्स, भिडिओ, फोटो र टेक्स्ट पोस्टमार्फत आम्दानी गर्न थालेका छन्। तर यो सुविधासँगै स्क्याम गतिविधि पनि तीव्र रूपमा बढेको छ।

हाल फेसबुक पेजहरूमा ‘Monetization at Risk’, ‘Page Violation’ वा ‘Unusual Activity’ भन्दै डर देखाउने फेक पोस्ट, कमेन्ट र मेसेजहरू फैलिन थालेका छन्। स्क्यामरहरूले यस्ता फेक चेतावनी पोस्टलाई रेकमेन्डेड पोस्टको रूपमा देखाउने र कमेन्टमा शंकास्पद लिङ्क राख्ने गरेका छन्।

यस्ता मेसेजमा २४ घण्टाभित्र एक्सन नलिए मोनिटाइजेसन बन्द हुने धम्की दिइन्छ। कमेन्ट वा मेसेजमा surge.sh, vercel.app जस्ता अनौपचारिक डोमेनका लिङ्क राखेर प्रयोगकर्तालाई क्लिक गराउन खोजिन्छ।

लिङ्क क्लिक गरेपछि फेक रिभ्यु वा अपिल पेज खुल्छ, जहाँ फेसबुक लगइन, पासवर्ड, टु–फ्याक्टर अथेन्टिकेसन (२एफए) कोड तथा अन्य संवेदनशील विवरण मागिने गर्छ। यस्ता विवरण दिएमा स्क्यामरले फेसबुक अकाउन्ट र पेजमाथि पूर्ण नियन्त्रण लिन सक्छन्।

यसरी ह्याक भएपछि पेज डिलिट हुने, फेक कन्टेन्ट पोस्ट हुने, फलोअरहरूलाई स्क्याम गरिने र वास्तविक पोलिसी उल्लङ्घन देखाएर पेज स्थायी रूपमा बन्द हुने खतरा रहन्छ। यदि पेमेन्ट डिटेल लिंक गरिएको छ भने बैंक खाताबाट पैसा चोरी हुने जोखिमसमेत हुन्छ। केही अवस्थामा स्क्यामरहरूले समस्या समाधान गरिदिने बहानामा पैसा माग्ने गरेका छन्।

यसबाट जोगिन प्रयोगकर्ताले कुनै पनि शंकास्पद लिङ्क क्लिक नगर्नु, अनौपचारिक डोमेनबाट आएको मेसेजलाई बेवास्ता गर्नु र फेक पोस्ट रिपोर्ट गर्नु आवश्यक छ। फेसबुक वा मेटाले कमेन्ट, मेसेज वा बाह्य लिङ्कमार्फत संवेदनशील जानकारी माग्दैन भन्ने कुरा सधैं सम्झनुपर्छ।

वास्तविक समस्या भए–नभएको जाँच गर्न फेसबुक एप वा वेबसाइटमा लगइन गरी Page > Settings & Privacy > Page Quality वा Support Inbox हेर्न सकिन्छ। त्यसैगरी Professional Dashboard को Monetization सेक्सनभित्र रहेको Policy Issues वा Meta Business Suite को Page Status सेक्सनबाट पनि पोलिसी उल्लङ्घन भए–नभएको पुष्टि गर्न सकिन्छ।

सामान्यतया मोनिटाइजेसनसँग सम्बन्धित समस्यामा Policy Violations, Limited Originality of Content वा Geographic Restrictions जस्ता कारण देखिने गर्छन्। सुरक्षाका लागि टु–फ्याक्टर अथेन्टिकेसन अन गर्ने, बलियो पासवर्ड प्रयोग गर्ने र नियमित रूपमा पासवर्ड परिवर्तन गर्ने सुझाव दिइएको छ।