काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका सबै १० वटै निर्वाचन क्षेत्रमा जित हासिल गर्दै ‘क्लिनस्विप’ गर्ने अवस्थामा पुगेको छ।
हालसम्म १० मध्ये ४ वटा क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भइसकेका छन् भने बाँकी ६ क्षेत्रमा पनि फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा भने रास्वपाले काठमाडौंका १० मध्ये ४ वटा क्षेत्रमा मात्रै जित हासिल गरेको थियो। त्यतिबेला काठमाडौं–२ बाट सोविता गौतम, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए। बाँकी पाँच क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा एमाले विजयी भएका थिए।
यसपटक भने काठमाडौं–१ बाट रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रवल थापाले ६ हजार ३३९ मत प्राप्त गरेका छन्।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसीले १५ हजार ५३३ मतसहित अग्रता लिएका छन् भने कांग्रेसका कविर शर्माले ४ हजार ७८२ मत प्राप्त गरेका छन्।
काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
काठमाडौं–४ मा रास्वपाका पुकार बमले २० हजार १७६ मतसहित ठूलो अन्तर कायम गरेका छन्। कांग्रेसका सचिन तिमल्सेनाले ६ हजार ५८ मत प्राप्त गरेका छन् भने एमालेका राजन भट्टराई ४ हजार ७२९ मतसहित तेस्रो स्थानमा छन्।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले २१ हजार ८९३ मतसहित अग्रता लिएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ६ हजार ६७५ मत प्राप्त गरेका छन्।
काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७१९ मतसहित विजयी भइसकेका छन्। उनका निकटतम प्रतिस्पर्धी कृष्ण सबुज बानियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन्।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली २१ हजार ७६६ मतसहित जित नजिक पुगेका छन्। एमालेका प्रकाश श्रेष्ठले ३ हजार १२२ मत प्राप्त गरेका छन्।
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्।
काठमाडौं–९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल २२ हजार ३७८ मतसहित ठूलो अन्तरले अगाडि छन्। कांग्रेसकी नानुमैया बास्तोलाले ३ हजार ७१३ मत प्राप्त गरेकी छन्।
काठमाडौं–१० मा पनि रास्वपाका प्रदीप विष्ट ३० हजार १६६ मतसहित जित नजिक छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले ७ हजार ४ मत प्राप्त गरेका छन्।
राजधानीका सबै क्षेत्रमा रास्वपाको बलियो प्रदर्शनले यसपटक काठमाडौंको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको देखिएको छ।
