२२ वर्षमै मेयर उम्मेदवार बनेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य

काठमाडौं । २१ वर्षकै उमेरमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्।...

२२ वर्षमै मेयर उम्मेदवार बनेकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य

काठमाडौं । २१ वर्षकै उमेरमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी रञ्जु दर्शना ९ वर्षपछि प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन्।

बिहीबार सम्पन्न निर्वाचनमा उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे भने राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।

वैकल्पिक राजनीतिको वकालत गर्दै राजनीतिमा पहिचान बनाएकी रञ्जु १७ वर्षको उमेरमै २०७० सालमा विवेकशील नेपाली पार्टीमा आवद्ध भएकी थिइन्। त्यतिबेला विभिन्न दलहरूले गर्ने बन्द–हड्तालका कारण सर्वसाधारणलाई समस्या परेको भन्दै उनी त्यसविरुद्ध सडक आन्दोलनमा सक्रिय भइन्। उनको सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ समेत सञ्चालन गरिएको थियो।

सामाजिक कार्यमा पनि सक्रिय रहेकी रञ्जुले २०७२ सालको भूकम्पपछि राहत तथा पुनर्स्थापनाको काममा महत्वपूर्ण भूमिका निभाएकी थिइन्। भ्रष्टाचारविरुद्ध डा. गोविन्द केसीले गरेको आन्दोलनमा समेत उनले सहयोगी भूमिका खेलेकी थिइन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेकी थिइन्। त्यतिबेला उनी २२ वर्षकी थिइन्। ‘काठमाडौं विश्वकै सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन्। सो निर्वाचनमा नेकपा एमालेका विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए।

२०७८ सालमा विवेकशील पार्टीभित्र आन्तरिक विवाद बढेपछि उनले पार्टीबाट राजीनामा दिइन् र केही समय स्वतन्त्र रूपमा सक्रिय रहिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट ‘सेलरोटी’ चुनाव चिह्नसहित उम्मेदवारी दिए पनि उनी विजयी हुन सकिनन्। त्यसबेला उनले करिब ६०० मत मात्र प्राप्त गरेकी थिइन्।

२०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन्। त्यसपछि रास्वपाबाटै काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।

काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन्। प्रतिनिधिसभा सदस्यका रूपमा सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने, ह्विस्टल ब्लोअर प्रोटेक्सन नीति लागू गर्ने तथा पारदर्शी र उत्तरदायी प्रशासन स्थापना गर्ने उनको प्रतिबद्धता छ।

‘सुशासन विना विकास सम्भव छैन’ भन्ने नारासहित उनले हरित शहर निर्माण, सार्वजनिक खुला स्थानको संरक्षण, हरित क्षेत्र विस्तार तथा स्वच्छ र बस्नयोग्य काठमाडौं निर्माणमा काम गर्ने योजना अघि सारेकी छन्। ‘ग्रिन काठमाडौं, हेल्दी काठमाडौं’ उनको अर्को प्रतिबद्धता हो।

त्यसैगरी उनले शहरको सुरक्षा प्रणाली सुदृढीकरण, संवेदनशील क्षेत्रको प्रभावकारी व्यवस्थापन र आधुनिक सुरक्षा प्रणाली विकास गर्ने योजना प्रस्तुत गरेकी छन्। ‘सुरक्षित शहर, सुरक्षित नागरिक’ नारासहित उनले वैज्ञानिक ट्राफिक व्यवस्थापन, पैदल यात्रु तथा साइकल लेन निर्माण र प्रभावकारी सार्वजनिक यातायात नीति लागू गर्ने बताएकी छन्।

सुकुम्बासी समस्याको दिगो समाधान, सम्मानजनक आवास व्यवस्था तथा मानव अधिकारमैत्री पुनर्स्थापना पनि उनका प्राथमिकतामा छन्। ‘सबैका लागि सम्मानजनक जीवन’ उनको अर्को प्रतिबद्धता हो।

त्यस्तै मानसिक स्वास्थ्य नीतिको विकास, विद्यालयदेखि अस्पतालसम्म मानसिक स्वास्थ्य सेवा विस्तार, युवा, विद्यार्थी र महिलामुखी कार्यक्रम सञ्चालन गर्ने योजना पनि उनले अघि सारेकी छन्।

साना उद्यम प्रवर्द्धन, सीप विकास कार्यक्रम तथा युवालाई रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्यसहित उनले ‘सीप र उद्यमबाट समृद्धि’ नारा प्रस्तुत गरेकी छन्।

यसका साथै महिला सशक्तीकरणलाई पनि उनले प्राथमिकतामा राखेकी छन्। महिलाका लागि उद्यम, सीप विकास र रोजगारीका अवसर विस्तार, समान राजनीतिक सहभागिता, डिजिटल पहुँच र सुरक्षामा काम गर्ने लक्ष्यसहित उनले ‘सशक्त महिला, सशक्त समाज’ को परिकल्पना अघि सारेकी छन्।