रामेछाप । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रामेछापमा सम्पन्न मतदानपछि मतगणना प्रक्रिया अघि बढाउन आज बिहान सर्वदलीय बैठक बोलाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मतगणनाको तयारीका लागि बिहान ९ बजे सर्वदलीय बैठक आह्वान गरेको जनाएको छ।
निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गरी सदरमुकाम मन्थलीस्थित मालपोत कार्यालय भवनमा ल्याइसकिएको छ। मतपेटिका सुरक्षित रूपमा सङ्कलन भइसकेपछि मतगणना अघि बढाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार जिल्लामा कुल ४८ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ९० हजार ७१० मत खसेको हो, जसमा पुरुष ५० हजार ६२४ र महिला ४० हजार ८६ जना मतदाताले मतदान गरेका छन्। रामेछापमा यस निर्वाचनका लागि कुल १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका थिए। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदानका लागि ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र तोकिएका थिए।
