झापा–५ अपडेट: मतदान सम्पन्न, आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने

दमक (झापा) । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका लागि भएको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक...

झापा–५ अपडेट: मतदान सम्पन्न, आजै सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने

 दमक (झापा) । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यका लागि भएको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सकिएसँगै अहिले विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गर्ने कार्य तीव्र पारिएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, क्षेत्रका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालय (दमक) मा ल्याउने क्रम जारी छ। संकलन गरिएका मतपेटिकाहरूलाई मुचुल्का उठाएर सुरक्षित रूपमा सिल गर्ने कार्य भइरहेको छ। सुरक्षा व्यवस्थालाई चुस्त राख्न गणना स्थलमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

मतपेटिकाहरू संकलन भइसकेपछि आजै राति सर्वदलीय बैठक बस्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ। उक्त बैठकमा उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताहरूबीच मतगणनाको आचारसंहिता र कार्यविधिबारे छलफल हुनेछ। सबै केन्द्रबाट मतपेटिका आइपुगेलगत्तै सर्वदलीय बैठक आह्वान गरी बैठकको निर्णयअनुसार आजै राति वा भोलि बिहानैदेखि मतगणना सुरु गरिनेछ।

प्रारम्भिक जानकारी अनुसार यस क्षेत्रमा करिब ५५ देखि ६० प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ। दिउँसो ३:३० बजेसम्म ५५ प्रतिशत मत खसेको तथ्याङ्क सार्वजनिक भएको थियो। झापा–५ यसपटक देशभरिकै ध्यान केन्द्रित भएको क्षेत्र हो, जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा देखिएको छ।