मध्यपूर्वको तनावका कारण नेपालमा हुने लिग–२ सिरिज स्थगित

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीच नेपालमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्...

मध्यपूर्वको तनावका कारण नेपालमा हुने लिग–२ सिरिज स्थगित

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र युएईबीच नेपालमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले नेपालमा आयोजना हुने तय भएको सिरिज अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फागुन २६ देखि चैत ६ गतेसम्म सिरिज आयोजना गर्ने तालिका थियो। सिरिजका लागि युएई र ओमानका टोली नेपाल आउने तयारीमा थिए।

प्रवक्ता लामाका अनुसार मध्यपूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै काठमाडौंमा मार्च १० देखि सुरु हुने भनिएका सिडब्ल्युएस लिग–२ का खेलहरू हाललाई स्थगित गरिएको हो। यसले ओमान, युएई र नेपालसँग सम्बन्धित खेलहरू प्रभावित भएका छन्।

खाडी क्षेत्रमा हवाई मार्ग बन्द भएका कारण युएई र ओमानका टोली नेपाल आउन कठिन भएपछि सिरिज स्थगित गरिएको हो। सिरिजका लागि दुवै टोली शुक्रबारसम्म नेपाल आइपुग्ने तालिका थियो।

यसअघि सिरिजका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरिसकेको थियो। नेपाली टोली हाल सिरिजको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको छ।

लिग–२ को अंकतालिकामा नेपाल २० खेलबाट १२ अंक जोडेर सातौं स्थानमा छ। युएई १० अंकसहित पुछारमा रहेको छ भने ओमान २४ अंकसहित चौथो स्थानमा रहेको छ।