काठमाडौं, २१ फागुन । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा सवारी पास नभएका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार निर्वाचनको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सवारी पास प्राप्त गरेका सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको हो।
निर्वाचन आचारसंहिता विपरीत सवारी साधन सञ्चालन गर्ने चालकका सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको पनि उनले बताए।
यद्यपि एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनलाई भने आवागमनमा सहजीकरण गरिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने–जाने यात्रुका सवारी साधनलाई आवश्यक कारण देखाएमा सहज रूपमा आवतजावत गर्न दिइएको प्रहरीले जनाएको छ।
बिहीबार देशभर प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन भइरहेको छ। कुल २७५ सिटका लागि हुने यस निर्वाचनमा १६५ सिट प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सिट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि चयन गरिने व्यवस्था छ।
