जेनजी आन्दोलन: सर्वोच्च अदालत र प्रहरी कार्यालयमा आगजनी गर्ने १३ जनामाथि मुद्दा दर्ता

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार तथा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न १३ जनाविरुद्ध जिल्ला अदालत काठम...

जेनजी आन्दोलन: सर्वोच्च अदालत र प्रहरी कार्यालयमा आगजनी गर्ने १३ जनामाथि मुद्दा दर्ता

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार तथा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न १३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनी तथा विध्वंसमा संलग्न व्यक्तिहरूमाथि आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक अधिकारीले जानकारी दिए।

सर्वोच्च अदालतमा आगजनी गरेको अभियोगमा सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दायर गरिएको छ। अभियोगपत्रअनुसार उनीहरूले आगजनी गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको उल्लेख छ।

त्यस्तै सिंहदरबारमा तोडफोड तथा आगजनीमा संलग्न आशिष गुरुङविरुद्ध पनि आपराधिक उपद्रव र डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरी वृत्त बौद्धमा आगजनी गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध मुद्दा चलाइएको छ भने प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

यस घटनामा संलग्नमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै सर्वोच्च अदालत प्रशासनले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएको थियो। सोही आधारमा अनुसन्धान सम्पन्न गरी अभियुक्तहरूमाथि मुद्दा चलाइएको जनाइएको छ।