काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चुनावलाई लक्षित गर्दै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज र नियमित राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र ८८साल्ट ट्रेडिङ कर्पोरेसन८८लाई पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो।
मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार चुनावको समयमा आपूर्ति सहज बनाउने, वितरण व्यवस्थापन नियमित राख्ने र सर्वसाधारणलाई सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले निर्देशन जारी गरिएको हो।
चुनावको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्नसमेत निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
साथै सार्वजनिक बिदाका दिनमा समेत आयात–निर्यातका कार्य निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायलाई भनिएको छ। बजार अनुगमन तथा आपूर्ति व्यवस्थामा सहजीकरण र सहयोगका लागि स्थानीय प्रशासन परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णयसमेत भएको मन्त्रालयले जानकारी दिएको छ।
यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले डिजल र पेट्रोल अनावश्यक रूपमा भण्डारण गर्दा आगलागी तथा अन्य दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत रहन उपभोक्तालाई अनुरोध गर्नुभएको छ।
