कुवेतमा अमेरिकाका कयौँ लडाकु विमान दुर्घटनाग्रस्त, पायलटहरू सुरक्षित

काठमाडौं, १८ फागुन — कुवेतमा अमेरिकाका कयौँ लडाकु विमान दुर्घटनाग्रस्त भएको जानकारी सार्वजनिक भएको छ। कुवेतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुर्घटनामा...

कुवेतमा अमेरिकाका कयौँ लडाकु विमान दुर्घटनाग्रस्त, पायलटहरू सुरक्षित

काठमाडौं, १८ फागुन — कुवेतमा अमेरिकाका कयौँ लडाकु विमान दुर्घटनाग्रस्त भएको जानकारी सार्वजनिक भएको छ। कुवेतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुर्घटनामा परेका सबै पायलट सुरक्षित रहेको जनाएको हो।

मन्त्रालयका प्रवक्ताका अनुसार दुर्घटना लगत्तै सम्बन्धित निकायले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको थियो। उद्धार टोलीले चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकाली उपचारका लागि अस्पताल पठाएको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ।

दुर्घटनाको कारणबारे भने हालसम्म स्पष्ट विवरण सार्वजनिक गरिएको छैन। रक्षा मन्त्रालयले घटनाबारे विस्तृत छानबिन सुरु गरिएको र प्राविधिक समस्या वा अन्य कुनै कारणका कारण दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको जनाएको छ।

उक्त घटना इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको संयुक्त हवाई कारबाहीको तेस्रो दिन भएको हो। यसै क्रममा इरानले छिमेकी अरब मुलुकहरूमा अवस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै जवाफी हमला जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसबीच सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा दुर्घटनाअघि लडाकु विमानका चालक दलका सदस्यहरू विमानबाट बाहिर निस्केर प्यारासुटमार्फत सुरक्षित अवतरण गरेको दृश्य देखिएको छ। बीबीसीले उक्त भिडियोबारे उल्लेख गरेको छ।

घटनासम्बन्धी थप विवरण सार्वजनिक हुन बाँकी रहेको छ।