रामेछापमा निर्वाचन सामग्री सहित सुरक्षाकर्मी सवार गाडी भिरबाट खस्यो

रामेछाप — निर्वाचन सामग्री तथा कर्मचारी लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको एक गाडी रामेछापमा दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारीअनुसार गाडी रामेछाप नगरपालिका...

रामेछापमा निर्वाचन सामग्री सहित सुरक्षाकर्मी सवार गाडी भिरबाट खस्यो

रामेछाप — निर्वाचन सामग्री तथा कर्मचारी लिएर मतदान केन्द्रतर्फ जाँदै गरेको एक गाडी रामेछापमा दुर्घटनामा परेको छ। प्रारम्भिक जानकारीअनुसार गाडी रामेछाप नगरपालिका–२ स्थित वडा कार्यालय नजिकैको स्वामीडाँडा भिरबाट तल खसेको हो।

स्थानीयवासीका अनुसार भिरालो र अप्ठेरो सडक खण्डमा गाडी अनियन्त्रित भई दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनास्थल दुर्गम तथा भिरालो भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ।

दुर्घटनामा परेको गाडी वडा नं. २ स्थित शीतलादेवी मतदान केन्द्र तथा वडा नं. ३ स्थित साघुटार वडा कार्यालय मतदान केन्द्रका लागि मतपेटिका लगायत अन्य आवश्यक निर्वाचन सामग्री र कर्मचारी लिएर जाँदै गरेको जनाइएको छ। गाडीमा सुरक्षाकर्मी तथा कर्मचारी गरी करिब ५ देखि ७ जना सवार रहेको प्रारम्भिक सूचना प्राप्त भएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले दुर्घटनाबारे प्रारम्भिक जानकारी आएको पुष्टि गर्दै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताए। उनका अनुसार मानवीय तथा भौतिक क्षतिको यकिन विवरण हालसम्म प्राप्त हुन सकेको छैन।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने सम्बन्धित निकायबाट थप विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।