लदी पूजाको अवसरमा मन्थली नगरपालिकाले दियो स्थानीय सार्वजनिक बिदा(भिडियो)

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको मुख्य चाड लदी पूजा (कोशी पूजा) का अवसरमा यही फागुन १९ गते मङ्गलवार स्थानीय सार्वजनिक बिदा दिएको छ। नगरपालिक...

लदी पूजाको अवसरमा मन्थली नगरपालिकाले दियो स्थानीय सार्वजनिक बिदा(भिडियो)

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले माझी समुदायको मुख्य चाड लदी पूजा (कोशी पूजा) का अवसरमा यही फागुन १९ गते मङ्गलवार स्थानीय सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले बुधवार सूचना प्रकाशन गर्दै नगर सभाको १८औँ अधिवेशनको निर्णयअनुसार उक्त दिन नगरपालिका कार्यालय अन्तर्गतका सबै वडा कार्यालय तथा शिक्षण संस्थामा अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने जनाएको हो।
माझी समुदायले हरेक वर्ष फागुन महिनाको साइँली मङ्गलबार लदी पूजा गर्ने परम्परा छ। उनीहरूले नदी किनारका छिनाली (मसान), मङ्गलादेवी र जलदेवीका नाममा पाठी, कुखुरा लगायतका बलि चढाएर पूजा गर्छन्।

लदी पूजा गरेमा नदीमा डुङ्गा (नाउ) चलाउँदा, माछा मार्दा तथा पौडी खेल्दा जोखिम नआउने विश्वास रहेको माझी समुदाय बताउँछ। बर्सातमा नदीले निम्त्याउने मानवीय, भौतिक र आर्थिक क्षति नहोस् भन्ने कामनासहित नदी पूजा गरिँदै आएको उनीहरूको भनाइ छ। माझी भाषामा ‘छिनाली’ को अर्थ मसान र ‘लदी’ को अर्थ कोशी हुन्छ।
१४ वडा रहेको मन्थली नगरपालिकाका वडा नं ७ को भटौली, मुगिटार र वडारे, वडा–८ को जखनीटार र गाईखुरा, वडा–२ को करमबोट, वडा–१ मन्थली, वडा–६ का नबुघाट, मसानटार, हात्तिटार, कुनौरी र सेलेघाट क्षेत्रमा माझी समुदायको उल्लेख्य बसोबास छ।

विशेष गरी नगरपालिका भएर बग्ने तामाकोशी नदी आसपास माझी समुदायको परम्परागत बसोबास रहेको छ। यस्तै, रामेछाप जिल्लाका खाँडादेवी गाउँपालिका–१ लुभुघाट, कोथबे; वडा–३ का सित्खा, डफ्खा; वडा–४ का पुछिघाट र रजगाउँ; तथा रामेछाप नगरपालिका–९ का राताटार र हर्देनीमा पनि माझी समुदायको बसोबास छ।

जिल्लाका लिखुतामकोशी र सुनापति गाउँपालिकामा समेत माझी समुदाय फैलिएको छ। सुनकोशी नदी र तामाकोशी नजिकका बस्तीहरूमा उनीहरूको बसोबास ऐतिहासिक रूपमा देखिन्छ। राष्ट्रिय जनगणना २०७८ अनुसार रामेछाप जिल्लामा माझी समुदायको जनसङ्ख्या ६ हजार २८८ रहेको छ।