अमेरिकामा नेपालीद्वारा पत्नी र छोरीको हत्या, प्रहरीको गोलीबाट आफैंको पनि मृत्यु

काठमाडौँ । अमेरिकाको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपाली नागरिकले आफ्नै पत्नी र छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। घटनास्थलमा नियन्त्रण ल...

अमेरिकामा नेपालीद्वारा पत्नी र छोरीको हत्या, प्रहरीको गोलीबाट आफैंको पनि मृत्यु

काठमाडौँ । अमेरिकाको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपाली नागरिकले आफ्नै पत्नी र छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। घटनास्थलमा नियन्त्रण लिन पुगेका प्रहरीले हतियार फाल्न आदेश दिँदा नमानेपछि गोली चलाउँदा ती व्यक्तिको पनि मृत्यु भएको छ।

प्रहरीका अनुसार ५० वर्षीय छत्रबहादुर थापाले फेयरफ्याक्स काउन्टीको पर्सिमोन ड्राइभस्थित अपार्टमेन्टमा १० इन्च लामो धारिलो हतियार प्रयोग गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापामाथि आक्रमण गरेका थिए। आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको हो। सो क्रममा ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेत पनि गम्भीर घाइते भएका छन्।

घटना देखेपछि ज्वाइँ सन्तोषले तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा छत्रबहादुर सन्तोषमाथि आक्रमण गरिरहेको अवस्थामा भेटिएका थिए। प्रहरीले हतियार फाल्न पटक–पटक आदेश दिए पनि नमानेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको जनाइएको छ। प्रहरीको गोली लागेर छत्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो।

घाइते सन्तोषको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेका परिवारका एक वर्षीय शिशु भने सकुशल रहेको बताइएको छ।

प्रहरीका अनुसार उक्त परिवारको आपराधिक पृष्ठभूमि नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरभित्रै भएको यो वीभत्स हत्याकाण्डले प्रहरीलाई समेत स्तब्ध बनाएको बताइएको छ। केभिन डेभिसले घटनालाई ‘कल्पनाबाहिरको अत्यन्तै भयावह दृश्य’ भन्दै विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।