रामेछापमा निर्वाचन तयारी तीव्र: १ हजार ३७४ कर्मचारी परिचालन हुने, मतपत्र भोलि आइपुग्ने(भिडियो)

रामेछाप । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछापमा तयारीले तीव्रता पाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार ज...

रामेछापमा निर्वाचन तयारी तीव्र: १ हजार ३७४ कर्मचारी परिचालन हुने, मतपत्र भोलि आइपुग्ने(भिडियो)

रामेछाप । यही फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछापमा तयारीले तीव्रता पाएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जनशक्ति व्यवस्थापनदेखि मतदाता नामावली, सामग्री ढुवानी र तालिम कार्यक्रमसम्मका काम अन्तिम चरणमा पुगेको छ।

आइतबार सदरमुकाम मन्थली स्थित जिल्ला निर्वाचन कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया एवं छलफल कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले जिल्लाको समग्र निर्वाचन तयारीबारे जानकारी गराए ।
उनका अनुसार निर्वाचन सञ्चालनका लागि मतदान अधिकृत २३०, सहायक मतदान अधिकृत २३०, सहायक कर्मचारी ६८४ र सहयोगी कर्मचारी १३० गरी कुल १ हजार ३७४ जना कर्मचारी आवश्यक पर्नेछ। यसका लागि संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा शिक्षकसमेत समेटेर २ हजार ७४ जनाको विवरण मुख्य निर्वाचन अधिकृतलाई उपलब्ध गराइसकिएको छ । अब अन्तिम छनोट हुन बाकी रहेको उनले बताए ।
उनले भने,“समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अस्थायी मतदाता नामावली सङ्कलनको काम पनि सम्पन्न भइसकेको छ। यस क्रममा कुल २ हजार ४२२ जना अस्थायी मतदाता सङ्कलन भएका छन् । जसमा कारागारका ३९ जना पनि समावेश छन्।” उनका अनुसार निर्वाचन आयोगले अस्थायी मतदानका लागि जिल्ला कारागार र सघन सहरी तथा भवन निर्माण कार्यालयमा गरी दुई वटा केन्द्र तोकेको छ ।

सामग्री व्यवस्थापनतर्फ कार्यालयबाट ३७ थरी र आयोगबाट १४ थरी सामग्री प्राप्त भइसकेको छ भने मतपत्र भोलि(सोमबार) आइपुग्ने उनले बताए । मतदाता शिक्षाका लागि स्वयंसेवक, अनुगमनकर्ता, समन्वयकर्ता तथा विभिन्न समितिमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि फागुन १२ देखि १४ गतेसम्म मन्थली माविमा तालिम कार्यक्रम आयोजना गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रक कार्यालय, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको निर्वाचन अधिकृत लामिछानेले जानकारी दिए । यस्तै, निर्वाचन खर्च पारदर्शी बनाउन आयोगको कार्यविधिअनुसार उम्मेदवारले बैङ्क खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। रामेछापका १७ उम्मेदवारमध्ये आइतबारसम्म ११ जनाले खाता खोलेर सिफारिस लिइसकेको कार्यालयले जनाएको छ।

मतगणना स्थल भने विगतझैँ यस पटक पनि मालपोत कार्यालयमै तोकिएको उनले बताए । जिल्ला निर्वाचन कार्यालयका अनुसार रामेछापमा यो निर्वाचनका लागि १ लाख ८७ हजार ९५२ जना मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्रहरू निर्धारण गरिएको छ ।