यो चुनाव विध्वंस र निर्माणबीचको लडाइँ होः एमाले नेता गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश कमिटीका सदस्य रत्नप्रसाद गौतमले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई विध्वंस र निर्माणबीचको निर्...

यो चुनाव विध्वंस र निर्माणबीचको लडाइँ होः एमाले नेता गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश कमिटीका सदस्य रत्नप्रसाद गौतमले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई विध्वंस र निर्माणबीचको निर्णायक लडाइँको रूपमा चित्रण गर्नुभएको छ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीले शनिबार कोटेश्वर मा आयोजना गरेको उपत्यका केन्द्रित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै गौतमले सूर्य चिन्हमा मतदान गरेर रामेछापलाई एमालेमय बनाउन उपस्थित कार्यकर्तालाई आह्वान गर्नुभयो।

उहाँले रामेछापले यस पटक दुई महत्वपूर्ण अवसर पाएको उल्लेख गर्दै प्रत्यक्षतर्फका उम्मेदवार माधव ढुङ्गेल लाई अत्यधिक बहुमतका साथ विजयी गराउनुपर्ने र समानुपातिकतर्फ जनजाति कोटाबाट उम्मेदवार राजकुमार श्रेष्ठ लाई प्रतिनिधिसभामा पु¥याउने सम्भावना बलियो रहेको बताउनुभयो। दुई जना प्रतिनिधिसभा सदस्य निर्वाचित भए रामेछापको विकास निर्माण र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यमा एमालेले अग्र भूमिका खेल्ने उहाँको भनाइ थियो।

गौतमले ‘नयाँ’ को नाममा फैलाइँदै आएको भ्रमप्रति कडा टिप्पणी गर्दै यो निर्वाचन नयाँ र पुरानोको होइन, देश जलाउने र देश बनाउने शक्तिबीचको चुनाव भएको स्पष्ट पार्नुभयो। सरकारी भवन, सार्वजनिक सम्पत्ति तथा नेता–कार्यकर्ताका निजी निवास जलाउने प्रवृत्तिको आलोचना गर्दै उहाँले जनतालाई निर्माण, संरक्षण र स्थायित्वको पक्षमा उभिन आग्रह गर्नुभयो।

उहाँले यो रहरको वा नियमित चुनाव नभई विशेष परिस्थितिमा मुलुकको रक्षा, नेपाली जनताको भविष्य तथा वैदेशिक र परराष्ट्र नीतिको सुनिश्चितताका लागि लड्नुपरेको चुनाव भएको उल्लेख गर्नुभयो। “देश बनाउने शक्तिलाई जिताउन जसरी पनि सूर्य चिन्हमा मतदान गराउनुपर्छ,” भन्दै उहाँले आगामी ५–१० दिन निर्णायक हुने बताउनुभयो। एमाले जनताको समस्या आफ्नै समस्या ठान्ने पार्टी भएको उल्लेख गर्दै गौतमले सबैलाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आग्रह गर्नुभयो।