रामेछाप । बालबालिकामा गरिएको लगानीले सुनौलो बिहानी ल्याउँछ” भन्ने नारासहित उमाकुण्ड गाउँपालिकाका सबै वडामा बालमैत्री स्थानीय शासनको नीतिगत तथा प्रक्रियागत अवलम्बन र कार्यान्वयन सम्बन्धी वडा स्तरीय एकदिने नीतिगत अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
उमाकुण्ड गाउँपालिकाको वार्षिक कार्यक्रमअनुसार बालमैत्री स्थानीय शासनको नीतिगत प्रक्रिया प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले वडा–वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। गाउँपालिकाले २०८३ माघ मसान्तभित्र सम्पूर्ण पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएको छ।
बालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा सञ्चालित कार्यक्रममा वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूका बारेमा विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा वडा स्तरीय विद्यालय, बाल सञ्जाल, नागरिक समाज, सुरक्षाकर्मी, स्वयंसेविका तथा अन्य सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो।
अभिमुखीकरणमा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ तथा बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०७९ अनुसार बालबालिकाको हक, अधिकार, संरक्षण, सहभागिता र विकाससँग सम्बन्धित ५१ सूचकहरू पूरा गर्नुपर्ने विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रमले वडा तहमा बालमैत्री शासनको अवधारणा व्यवहारमा उतार्न सहयोग पुग्ने विश्वास गरिएको छ।
