रामेछाप । रामेछापको मन्थलीमा प्रजातन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जेसीज रामेछापले सामाजिक उत्तरदायित्व अन्तर्गत बिहीबार उक्त कार्यक्रम आयोजना गरेको हो।
देवकोटा चोक स्थित पिपल बोटमा भएको रक्तदान कार्यक्रममा १८ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। कार्यक्रम संयोजक तथा जेसी २०२६ का उपाध्यक्ष सीताराम लोहारले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै रक्तदान जस्तो मानवीय कार्यले जीवन रक्षा गर्न ठुलो भूमिका खेल्ने बताए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रामेछाप जिल्ला शाखाको प्राविधिक सहयोग रहेको थियो। रक्त अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित आयोजना गरिएको यस कार्यक्रमप्रति स्थानीय युवाहरू, सर्वसाधारण तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
जेसीज रामेछापका अध्यक्ष जेसी. कुमार श्रेष्ठले प्रजातन्त्र दिवसलाई मानवीय सेवासँग जोडेर मनाउनु सकारात्मक सन्देश भएको उल्लेख गर्दै कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, सहयोगी संस्था तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरेका छन्।

