रामेछापमा चुनावी सरगर्मी बढ्दोः दलहरूको जनसम्पर्क अभियान तीव्र

रामेछाप । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। निर्वाचन आयोगका अन...

रामेछापमा चुनावी सरगर्मी बढ्दोः दलहरूको जनसम्पर्क अभियान तीव्र

रामेछाप । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्। निर्वाचन आयोगका अनुसार फागुन ४ गतेदेखि १८ गतेसम्म जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने व्यवस्था छ। सोही कार्य तालिकाअनुसार एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा सोमबारदेखि उम्मेदवारहरू जनसम्पर्क र कोणसभामा सक्रिय देखिएका छन्।

दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडामा फैलिएको जिल्लामा स्वतन्त्र ३ जनासहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन्। मतदातालाई आफ्नो पक्षमा पार्न दलहरूले नीति, योजना र कार्यक्रमसहित उम्मेदवारलाई प्रत्यक्ष जनसम्पर्कमा उतारेका छन्। नेपाली काँग्रेसले सोमबार लिखुतामाकोशी गाउँपालिकाका विभिन्न वडामा चुनावी कार्यक्रम सञ्चालन गरेको छ। पार्टीका प्रचार शाखा प्रमुख हिमाल ढुंगेलका अनुसार उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउन तय गरिएको कार्य तालिकाअनुसार प्रचार अभियान अघि बढाइएको हो।

त्यस्तै नेकपा एमालेले पनि लिखुतामाकोशी गाउँपालिकाका वडा नं. १ देखि ५ सम्म उम्मेदवार माधवप्रसाद ढुंगेलको पक्षमा भेटघाट तथा कोणसभा आयोजना गरेको छ। एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाका अनुसार बागमती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुंगेलको उपस्थितिमा अभियान सञ्चालन गरिएको हो। फागुन १८ गतेसम्म जिल्लाका सबै वडामा प्रचार–प्रसार र जनसम्पर्क कार्यक्रम सञ्चालन हुने उनले बताए।

नेपाल कम्युनिष्ट पार्टी रामेछापले दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न वडामा घरदैलो, मतदाता भेटघाट तथा सभा गरेको छ। पार्टी नेता तारानारायण श्रेष्ठका अनुसार उम्मेदवार श्यामकुमार श्रेष्ठलाई विजयी गराउने उद्देश्यले तय कार्य तालिकाअनुसार प्रचारलाई तीव्र बनाइएको छ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली पालिका उमाकुण्ड गाउँपालिकाको अन्तिम मानव बस्ती गुम्देलको ल्हाछ्योरबाट चुनावी सभा तथा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ। पार्टी सभापति रमेश रायमाझीका अनुसार उम्मेदवार डा. कृष्णहरि बुढाथोकीको पक्षमा जनसमर्थन जुटाउन अभियान जारी छ। रामप्रपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति लगायत दलहरू पनि सक्रिय प्रचारमा जुटेका छन्।

दलहरूको चहलपहलसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारीलाई तीव्र पारेको छ। जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार आइतबारदेखि जिल्लाका सबै ६४ वडामा मतदाता शिक्षा कार्यक्रम सुरु भइसकेको छ। महिला, अपाङ्गता भएका व्यक्ति, वृद्ध वृद्धालगायत सबै वर्गका मतदातालाई सही मतदान प्रक्रिया, मतपत्र जाँच, स्वस्तिक छाप प्रयोग, बदर मत हुन नदिन अपनाउनुपर्ने सावधानीबारे स्वयंसेवकहरूले जानकारी दिनेछन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस निर्वाचनमा रामेछापमा १ लाख ८७ हजार ९५२ मतदाता रहेका छन्। जिल्लाभर ९६ मतदान स्थल र २२८ मतदान केन्द्र तोकिएका छन्। राजनीतिक दलहरूको आक्रामक प्रचार र निर्वाचन प्रशासनको तयारीसँगै रामेछापमा निर्वाचनको माहौल दिनप्रतिदिन तातिँदै गएको छ।