काठमाडौं, फागुन ३ । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकोत्सव आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ। महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको सेनाले यस अवसरमा सैनिक कला, परेड तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै आएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह आयोजना गरिँदै छ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्। समारोहमा शिवरात्रि बढाइँसँगै परेड, तोप बढाइँ, कवाज तथा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार जङ्गीअड्डाअन्तर्गत पृतना, बाहिनी, गण, गुल्म, कूटनीतिक नियोग तथा शान्ति मिसनमा रहेका एकाइहरूमा पनि सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
इतिहास र भूमिका
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको रक्षामा नेपाली सेनाले इतिहासका विभिन्न कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। वर्तमान सेनाको सङ्गठनात्मक स्वरूप वि.सं. १८१९ सालदेखि सुरु भएको मानिन्छ। सैनिक वीरपुर्खाहरूको साहस, वीरता र बलिदानकै आधारमा राष्ट्र स्थापना र राष्ट्रिय एकता सुदृढ हुँदै आएको सेनाको इतिहास छ।
अनुशासन, ‘चेन अफ कमान्ड’, राजनीति निरपेक्षता र एकताको भावना नेपाली सेनाको मूल संस्कारका रूपमा रहिआएका छन्। पछिल्लो समय सेनामा समावेशिता बढ्दै गएको छ भने महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ।
अन्तर्राष्ट्रिय छवि र शान्ति मिसन
नेपाली सेनाले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि भरपर्दो र विश्वसनीय फौजको छवि निर्माण गर्न सफल भएको छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९५८ देखि शान्ति स्थापनामा सहभागी हुँदै आएको नेपाली सेनाले हालसम्म ४४ वटा शान्ति मिसनमा एक लाख ६२ हजार ४९६ शान्ति सैनिकमार्फत योगदान दिएको छ।
शान्ति मिसनकै क्रममा ७४ नेपाली सैनिकले जीवन बलिदान दिएका छन् भने ७७ जना घाइते भएका छन्। हाल विश्वका १० मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला शान्ति सैनिक खटाउने देशमध्ये नेपाल अग्रस्थानमा रहेको छ।
तालिम, विकास र विपद् व्यवस्थापन
विश्वका विभिन्न देशका सैनिकका लागि नेपाल पेसागत क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण केन्द्र बन्दै गएको छ। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय तथा आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा विभिन्न देशका सैनिक निरन्तर तालिमका लागि सहभागी हुँदै आएका छन्।
नेपाली सेनाले विपद् व्यवस्थापन, सडक तथा पूर्वाधार निर्माण, ऐतिहासिक संरचना संरक्षण, प्राकृतिक सम्पदाको सुरक्षा र विकास निर्माणका कार्यमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। साथै, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाको नेतृत्वमा एकीकृत सुरक्षा योजना कार्यान्वयनमा रहेको जनाइएको छ।
