काठमाडौं, फागुन ३ ।महाशिवरात्रि पर्वका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर भक्तजन र साधुसन्तको भीडले भरिएको छ। साधु–बाबाहरूले मन्दिर परिसरमा धुनी बालेर साधना सुरु गरेका छन् भने देश–विदेशबाट आएका श्रद्धालुको उल्लेख्य उपस्थितिले पशुपति क्षेत्र उत्सवमय बनेको छ।
महाशिवरात्रिको पूर्वसन्ध्यादेखि नै पशुपति क्षेत्र आसपास अत्यधिक चहलपहल देखिएको थियो। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक तथा प्रवक्ता सुभाष जोशीका अनुसार यस वर्ष महाशिवरात्रिका दिन कम्तीमा आठ लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको छ। साथै करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको छ।
दर्शनार्थीको भीड व्यवस्थापनका लागि चारवटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ। सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको छ। भक्तजनको सहजताका लागि आज बिहान ४ बजेदेखि मन्दिरका चारवटै ढोका खोलिएको छ। महाशिवरात्रिका दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिएको छ।
कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधिको निगरानीका लागि सिसीटिभी क्यामेरा र मोबाइल गस्ती बढाइएको छ। साथै, मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको छ।
दर्शनलाई सहज बनाउन ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको छ। खानेपानी, शौचालय, विश्रामस्थल र प्राथमिक उपचार केन्द्रको संख्या बढाइएको छ भने स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशनको व्यवस्था गरेको छ। माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण भइरहेको छ।
उता, काठमाडौँ जिल्ला प्रहरी परिसरले महाशिवरात्रिलाई लक्षित गर्दै सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जनाएको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार दर्शनार्थी तथा उनीहरूले साथमा ल्याउने सरसामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको छ।
पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालुमैत्री बनाउन बहुआयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ। नेपाल तथा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तका लागि अस्थायी आवास, भोजन र सुरक्षा व्यवस्था मिलाइएको छ। कोषले सबै श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसेर दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।
