काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका वरपरका १४ जिल्लाका निर्वाचन क्षेत्रको मात्र मतपत्र छपाइ बाँकी रहेको छ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा नियमित रूपमा मतपत्र छपाइको काम भइरहेको आयोगले जनाएको छ। हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म एक करोड ७१ लाख ६३ हजार मतपत्र छपाइ भइसकेको छ। उनका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुमपश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी र डडेल्धुरालगायत जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
त्यसैगरी दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी) र मोरङको पनि मतपत्र छपाइ सकिएको छ।
उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, कास्की, कपिलवस्तु, दोलखा, नुवाकोट र काभ्रेपलाञ्चोक गरी कुल ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।
अब काठमाडौँ उपत्यका आसपासका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी रहेको र तीन दिनभित्र छपाइ कार्य सकिने अनुमान गरिएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए।
छपाइ सम्पन्न भएका जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको छ। हालसम्म १५ हजार ३७१ बाकस मतपत्र प्याकिङ गरिएको आयोगले जनाएको छ। दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ हुने र ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको छ।
मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको हो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ। दोस्रो चरणमा दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु गरेर ढुवानीको तयारी गरिएको छ।
आयोगका अनुसार प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्नेछ। छपाइ सम्पन्न भएका मतपत्र आजैदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा ढुवानी सुरु गरिएको छ।
कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाइएको सहायक प्रवक्ता न्यौपानेले जानकारी दिए।
