पोखरा। पोखरास्थित फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय अदित गुरुङको ज्यान गएको हो।
सशस्त्र प्रहरी बल नेपालका अनुसार शनिबार राति करिब २ः१० बजे पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक दुर्घटना भएको हो। चालकले कारको नियन्त्रण गुमाउँदा सवारी साधन सडकबाट सिधै फेवातालमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकालेर तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो। तर अस्पताल पुर्याएपछि बिहान ४ः३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनासम्बन्धी थप अनुसन्धानका लागि सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको प्रहरीले जनाएको छ।
