नेपालसँगको खेलअघि इटालीका कप्तान र प्रशिक्षकको अभिव्यक्ति

मुम्बई । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा बिहीबार नेपाल र इटाली भिड्दैछन्। मुम्बईको वानखेडे रंगशालामा हुने खेल अघि इटालीका कप्तान वायन म्या...

नेपालसँगको खेलअघि इटालीका कप्तान र प्रशिक्षकको अभिव्यक्ति

मुम्बई । आइसिसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा बिहीबार नेपाल र इटाली भिड्दैछन्। मुम्बईको वानखेडे रंगशालामा हुने खेल अघि इटालीका कप्तान वायन म्याडसेन र प्रशिक्षक जोन डेभिसनले खेल र टोली तयारीबारे आफ्ना विचार व्यक्त गरेका छन्।

कप्तान म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्नु आफूका लागि ठूलो सम्मान भएको बताए। उनले नेपाली समर्थकहरूको ठूलो उपस्थितिका कारण उत्साहित रहेको भन्दै भने, “हामी यसलाई दबाबको रूपमा होइन, अवसरको रूपमा लिनेछौँ। हजारौं दर्शकका अगाडि खेल्नुको मज्जा बेग्लै हुन्छ।”

तर, म्याडसेन आफ्नो काँधको चोटका कारण नेपालविरुद्धको खेलमा उपलब्ध हुने छैनन्। उनले उप-कप्तान ह्यारी मानेन्टीलाई टोलीको कप्तानी गर्ने जिम्मेवारी दिएको बताए।

इटालीका प्रशिक्षक डेभिसनले भने, “टी–२० क्रिकेटमा जुनसुकै टोलीले जित्न सक्छ। नेपाल राम्रो टोली हो, तर हामीले अभ्यास खेलमा युएई जस्ता बलियो टोलीलाई हराएका छौँ। भोलि मैदानमा हामी जितको लागि नै उत्रनेछौँ।”

डेभिसनले खेलाडीहरूलाई निडर भएर खेल्न सन्देश दिएका छन्। “अघिल्लो खेलमा केही गल्ती गर्यौँ, तर भोलि ती गल्ती सुधार्दै लामो समय टिकेर खेल्ने प्रयास गर्नेछौँ,” उनले भने।

इटालीका धेरै खेलाडीहरू व्यावसायिक क्रिकेटर मात्रै नभई अरू पेशामा पनि काम गर्छन्—कोही ‘उबर’ ट्याक्सी चलाउँछन्, कोही पिज्जा पसलमा। यसबारे म्याडसेनले भने, “विश्वकप खेल्नु हाम्रो लागि ठूलो उपलब्धि हो। हामी केवल खेल्न मात्र आएका छैनौँ, हामी क्रिकेटको विरासत छोड्न चाहन्छौँ ताकि आगामी पुस्ताले पनि इटालीमा क्रिकेट खेल्न सकून्।”

प्रशिक्षक डेभिसनले नेपालको बलियो पक्षको रुपमा उनीहरूको लामो समय सँगै खेल्ने अनुभवलाई पनि औंल्याए। “नेपालको टोली सँगै धेरै खेल्छ, जुन उनीहरूको बलियो पक्ष हो। हाम्रो खेलाडीहरू त विविध देशमा छन्। तर, भोलिको खेलमा जसले कन्डिसनसँग छिटो घुलमिल गर्छ, उसैले जित्नेछ,” उनले बताए।