घरदैलो अभियानमै रास्वपा उम्मेदवार खरेललाई सहकारी पीडितको अवरोध

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार बनेका सुलभ खरेललाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमि...

घरदैलो अभियानमै रास्वपा उम्मेदवार खरेललाई सहकारी पीडितको अवरोध

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार बनेका सुलभ खरेललाई सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले घरदैलो अभियानकै क्रममा अवरोध गरेका छन्। सहकारी पीडितहरूले आफ्ना माग सम्बोधन नगरी चुनावी प्रचार गरिएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

मंगलबार दिउँसो बुटवल उपमहानगरपालिका–११ स्थित होराइजन चोकमा घरदैलो कार्यक्रमका क्रममा पीडितहरूले खरेलको टोलीलाई रोकेर नाराबाजी गरेका थिए। प्रदर्शनकारीहरूले “तिम्रो नेता खोई? लिएर आऊ”, “जेन–जीका माग कसले पूरा गर्छ?”, “सिंहदरबार किन जलाएको?” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

पीडितहरू उभिएर नाराबाजी गर्न थालेपछि घरदैलोमा रहेका उम्मेदवार खरेल नजिकैको एल डोराडो होटलभित्र प्रवेश गरेको उनीहरूको दाबी छ। सहकारी पीडितहरूले आफूहरूले दुःख गरेर बचत गरेको रकम कहिले फिर्ता हुन्छ भन्ने प्रश्न उठाएका छन्।

पीडित चेतनाथ शर्माका अनुसार सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। “अधिकांश बचतकर्ता न्यून आय भएका छन्। तीन वर्षदेखि आफ्नो पैसा फिर्ता पाउन संघर्ष गरिरहेका छन्,” उनले भने, “पीडितको पैसा खानेहरू खुलेआम हिँड्ने तर हामीले हाम्रो रकम नपाउने?”

यस घटनाबारे रास्वपाले भने अनभिज्ञता जनाएको छ। उम्मेदवार खरेलका चुनावी कमान्डर तथा रास्वपा केन्द्रीय सदस्य गणेश पौडेलले सहकारी पीडितको प्रदर्शनबारे पार्टी र उम्मेदवारलाई कुनै जानकारी नभएको बताए। उम्मेदवार खरेलले पनि आफू उक्त समयमा होटलमा खाना खान गएको मात्र भएको र कुनै अवरोधबारे जानकारी नभएको भन्दै अनावश्यक प्रचार गरिएको प्रतिक्रिया दिएका छन्।

सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको र त्यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिइएको आरोपमा मुद्दा अदालतमा विचाराधीन छ। पीडितहरूको निवेदनका आधारमा उक्त विषयमा कानुनी प्रक्रिया अघि बढिरहेको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिले २०७७ फागुन ११ गते ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो। प्रारम्भमा गितेन्द्रबाबु राई र छविलाल जोशी यस कम्पनीका शेयर सदस्य थिए। सहकारी रकम अपचलन प्रकरणमा संलग्न रहेको अभियोगमा रास्वपा अध्यक्ष रवि लामिछाने रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भइसकेका छन्। उनले सोमबार मात्रै तारेखमा उपस्थित भएका थिए।