काठमाडौं, माघ २८ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभारसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रियसभामा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन्।
संघीय संसद् सचिवालयले अपराह्न १:१५ बजेका लागि निर्धारण गरेको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका लागि प्रस्ताव गर्दै पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यक्रम रहेको छ।
आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि रहेको छ।
यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछिन्।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।
