सेयर बजारमा ऋणमार्फत लगानी गर्ने व्यवस्था फागुनदेखि

काठमाडौं, माघ २७ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्डसहित निर्देशिका लागू गर्ने निर्णय गरेको छ। ‘मार्जिन...

सेयर बजारमा ऋणमार्फत लगानी गर्ने व्यवस्था फागुनदेखि

काठमाडौं, माघ २७ – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन नयाँ मापदण्डसहित निर्देशिका लागू गर्ने निर्णय गरेको छ। ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२’ आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।

बोर्डको पछिल्लो बैठकले २०७४ सालको पुरानो निर्देशिका खारेज गर्दै नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो। नयाँ प्रणाली लागू भएपछि लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत ऋण सुविधा लिएर सेयर किन्न सक्नेछन्।

नयाँ मापदण्डअनुसार मार्जिन सुविधाका लागि योग्य हुन सूचीकृत कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्नेछ। प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बराबर वा बढी हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने प्रावधान राखिएको छ।

मार्जिन कारोबारअन्तर्गत लगानीकर्ताले कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिन ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ। कारोबार अवधिभर न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्नेछ। सेयर मूल्य घटेर उक्त सीमाभन्दा तल पुगेमा ब्रोकरले ‘मार्जिन कल’ गर्न सक्नेछन्। तोकिएको समयमा थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरले सेयर बिक्री गरी आफ्नो लगानी असुल गर्न सक्ने अधिकार पाउनेछन्।

पारदर्शिता सुनिश्चित गर्न ब्रोकरहरूले दैनिक रूपमा बजार मूल्यका आधारमा ‘मार्क–टू–मार्केट’ प्रणालीअनुसार मार्जिन हिसाब गर्नुपर्नेछ।

मार्जिन सुविधा दिन चाहने ब्रोकरको चुक्ता पुँजी कम्तीमा २० करोड रुपैयाँ हुनुपर्नेछ र उनीहरू राफसाफ तथा निक्षेप सदस्यका रूपमा कार्यरत हुनुपर्नेछ। ब्रोकरले आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा दिन सक्नेछन्। तर कुनै एक ग्राहक वा उसको परिवारलाई कुल सुविधाको १० प्रतिशतभन्दा बढी ऋण दिन पाइने छैन।

ब्रोकरहरूले आफ्नै स्रोत वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेवा दिन सक्नेछन्। तर यस्तो ऋण नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नहुने सीमा तोकिएको छ।

मार्जिन कारोबारका लागि छुट्टै खाता र डिम्याट खाता खोल्नुपर्नेछ। दैनिक कारोबार विवरण भोलिपल्टै नेप्सेलाई बुझाउनुपर्ने र नेप्सेले उक्त विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

यो प्रणाली लागू भएपछि साना तथा मध्यम लगानीकर्ताले थप पुँजी परिचालन गर्न पाउने, ब्रोकरहरूले ब्याज आम्दानीका नयाँ स्रोत प्राप्त गर्ने तथा समग्र सेयर बजारमा तरलता र सक्रियता बढ्ने अपेक्षा बोर्डले गरेको छ।