काठमाडौं, २७ माघ – आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेनाले गस्ती र पेट्रोलिङ सुरु गरिसकेको छ। महत्त्वपूर्ण प्रतिष्ठान, विमानस्थल र कारागारहरूको सुरक्षा सुनिश्चित गर्न सेना परिचालित भइरहेको छ।
निर्वाचन अवधिमा नेपाली सेनाले सामान्यतया तेस्रो घेरामा खटिने व्यवस्था रहेको छ। पहिलो घेरामा नेपाल प्रहरी/निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल/निर्वाचन प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित हुन्छ।
तर सुरक्षा आवश्यकताअनुसार नेपाली सेना जुनसुकै घेरामा खटिनसक्ने क्षमता राख्छ। प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा सेनालाई आवश्यकतानुसार पहिलो, दोस्रो वा तेस्रो घेरामा खटाउन सकिने बताइएको छ।
नेपाली सेनाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा भनिएको छ, सुरक्षा संवेदनशीलताको आधारमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत र मतदान अधिकृतसँगको समन्वयमा नेपाली सेना जुनसुकै घेरामा खटिनसक्छ।
युद्धकार्य निर्देशनालयका निर्देशक तथा सहायक रथी मनोज थापाका अनुसार, निर्वाचनको क्रममा शान्ति र सुरक्षा सुनिश्चित गर्न नेपाली सेनाका फौजहरू परिचालन हुनेछन्। हामीसँग भएका साधन, सामाग्री र क्षमताको सदुपयोग गर्दै जनताको चाहना अनुसार निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने हाम्रो लक्ष्य हो।
