काठमाडौं, माघ २७ — ‘सस्तो मूल्यमा बिलसहितको सुन दिने’ भन्दै प्रलोभनमा पारी ६० लाख रुपैयाँ लुट्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
घटना गत माघ १४ गते दिउँसो भएको थियो। लुटेरा समूहले पीडितलाई काठमाडौं महानगरपालिका–१४ स्थित घ्याखेलमा बोलाएको थियो। सस्तोमा सुन पाउने लोभमा पीडित ६० लाख रुपैयाँ नगद बोकेर तोकिएको स्थानमा पुगे। तर त्यहाँ सुन थिएन; बरु ८–९ जनाको समूहले पीडितलाई घेराबन्दीमा पारेर कुटपिट गरी उनीसँग रहेको रकम लुटेर फरार भएको थियो।
लुटपाटको उजुरी पछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई भक्तपुर बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको तार्केश्वर बस्ने ३२ वर्षीय विक्रम तामाङ, नुवाकोटको ककनी गाउँपालिका–७ घर भई तार्केश्वर बस्ने २८ वर्षीय जीवन तामाङ (तीनजनालाई माघ १८ गते पक्राउ गरिएको) र नवलपरासीको कावासोती नगरपालिका–१३ घर भई काठमाडौंको एयरपोर्ट बस्ने ३८ वर्षीय कर्णबहादुर सुनार (माघ २० गते टेकुबाट पक्राउ) रहेका छन्।
पक्राउ परेकाहरूको साथबाट ९ लाख ४२ हजार रुपैयाँ, ५ थान मोबाइल, घटनामा प्रयोग भएका ३ थान मोटरसाइकल र विभिन्न कम्पनीका १३ थान सिमकार्ड बरामद गरिएको छ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ।
