२७ माघ, काठमाडौं । कस्तुरीको बिना अवैध रूपमा बिक्री वितरण गर्न लागेको आरोपमा एक पूर्व सैनिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–११ शेषमती बस्ने ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भई शेषमतीमै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये परियार नेपाली सेनाको अन्य दर्जा (परिचर)का पूर्वकर्मचारी अर्थात् पूर्व सैनिक रहेको अनुसन्धान अधिकृतले जानकारी दिएका छन् ।
प्रहरीले उनीहरूबाट करिब ३० ग्राम कस्तुरीको बिना बरामद गरेको छ । बरामद बिना अवैध रूपमा बिक्री वितरण गर्न लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका अर्का व्यक्ति चन्द यसअघि दर्ता भएका दुई मुद्दामा फरार थिए । उनीविरुद्ध १७ मंसिर २०७५ मा प्रहरी वृत्त बालाजुमा डाँका तथा चोरी मुद्दा दर्ता भएको थियो । त्यस्तै १७ वैशाख २०८१ मा प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएकोमा सो मुद्दामा पनि उनी फरार रहेका थिए ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
