पकाउनुअघि कुखुराको मासु पखाल्नु सुरक्षित कि जोखिमपूर्ण? विज्ञानले दिएको स्पष्ट जवाफ

कुखुराको मासु पकाउनुअघि पखाल्ने कि नपखाल्ने भन्ने विषय अहिले सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। धेरै घरमा कुखुराको मासु पखाल्नु सरसफाइको अनिवार्य भागजस...

पकाउनुअघि कुखुराको मासु पखाल्नु सुरक्षित कि जोखिमपूर्ण? विज्ञानले दिएको स्पष्ट जवाफ

कुखुराको मासु पकाउनुअघि पखाल्ने कि नपखाल्ने भन्ने विषय अहिले सामाजिक सञ्जालमा व्यापक बहसको विषय बनेको छ। धेरै घरमा कुखुराको मासु पखाल्नु सरसफाइको अनिवार्य भागजस्तै मानिन्छ। तर खाद्य सुरक्षा र विज्ञानले भने यस अभ्यासलाई सुरक्षित मान्दैन।

खाद्य सुरक्षा विज्ञहरूका अनुसार कुखुराको काँचो मासुमा साल्मोनेला र क्याम्पिलोब्याक्टरजस्ता हानिकारक ब्याक्टेरिया प्राकृतिक रूपमा हुन्छन्। यी ब्याक्टेरियाले फूड पोइजनिङ गराउन सक्छन्, जसका कारण झाडापखाला, पेट दुखाइ, ज्वरो, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता समस्या देखिन सक्छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिमा यसको असर गम्भीर हुन सक्छ।

कुखुराको मासु धारामा पखाल्दा मासुमा लागेको ब्याक्टेरिया पानीका स–साना थोपा (स्प्ल्यास) मार्फत भान्साको सिङ्क, काउन्टर, चपिङ बोर्ड, भाँडाकुँडा र नजिकै राखिएका काँचै खाने तरकारीसम्म फैलिन सक्छ। युनिभर्सिटी अफ रिडिङका फूड माइक्रोबायोलोजीका सहप्राध्यापक डा. किमोन–एन्ड्रआस काराट्जसका अनुसार यस्ता थोपा नाङ्गो आँखाले देखिँदैनन्, तर ती थोपामा रहेका ब्याक्टेरिया अन्य खानेकुरा दूषित गर्न पर्याप्त हुन्छन्। यसरी दूषित भएका खानेकुरा खाँदा, कुखुराको मासु आफैँ राम्ररी पकाइएको भए पनि मानिस बिरामी पर्न सक्छ।

प्रयोगशालामा गरिएको परीक्षणले कुखुराको मासु केही सेकेन्ड मात्रै पखाल्दा पनि दूषित पानी धेरै टाढासम्म उछिट्टिने देखाएको छ। ती थोपाहरू काउन्टर, कपडा, क्यामेरा जस्ता वस्तुमा मात्र होइन, सलादका पात र गाजरजस्ता काँचै खाने खानेकुरासम्म पुगेको पाइयो। यसले कुखुराको मासु पखाल्दा संक्रमणको जोखिम किन बढ्छ भन्ने कुरा स्पष्ट पार्छ।

क्याम्पिलोब्याक्टर विश्व स्वास्थ्य सङ्गठनका अनुसार झाडापखालाजन्य रोगका विश्वव्यापी प्रमुख कारणहरूमध्ये एक हो। साल्मोनेलाको तुलनामा यसलाई अझ खतरनाक मानिन्छ, किनकि कुखुरामा साल्मोनेलाको मात्रा घटाउन खोप प्रयोग गरिए पनि क्याम्पिलोब्याक्टरका लागि त्यस्तो खोप उपलब्ध छैन। यस ब्याक्टेरियाको अत्यन्तै सानो मात्रा पनि सङ्क्रमण गराउन पर्याप्त हुन्छ।

यसरी जोखिम हुँदाहुँदै पनि धेरै मानिसले कुखुराको मासु पखाल्ने कारण सांस्कृतिक र सामाजिक अभ्याससँग जोडिएको छ। एशिया, अफ्रिका, क्यारेबियन र दक्षिण अमेरिकाका धेरै समुदायमा मासु पखाल्नु सरसफाइ, हेरचाह र घरायसी संस्कारको प्रतीक मानिन्छ। कतिपय स्थानमा मासु स्थानीय रूपमा काटिने भएकाले स्वच्छतामाथि अविश्वास रहँदा पनि मानिसहरू पखाल्न बाध्य हुन्छन्। अध्ययनअनुसार दक्षिणपूर्वी एशियाका करिब ९६ प्रतिशत उपभोक्ताले कुखुराको मासु पकाउनुअघि पखाल्ने गरेका छन्।

केहीले भिनेगर, कागती वा नुनिलो पानी प्रयोग गरेर मासु पखाल्दा सुरक्षित हुन्छ भन्ने विश्वास राख्छन्। तर खाद्य विज्ञहरूका अनुसार यस्ता पदार्थले ब्याक्टेरिया उल्लेख्य रूपमा नष्ट गर्छन् भन्ने कुनै ठोस वैज्ञानिक प्रमाण छैन। ब्याक्टेरिया मार्ने सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय भनेको कुखुराको मासुलाई राम्रोसँग पकाउनु नै हो।

विशेषज्ञहरू भन्छन्, बजारमा पाइने अधिकांश कुखुराको मासु पहिले नै सफा अवस्थामा बिक्री गरिन्छ, त्यसैले त्यसलाई फेरि पखाल्नु आवश्यक छैन। बरु कुखुराको मासु नपखालेर, छुट्टै चपिङ बोर्ड प्रयोग गरी, मासु छोएपछि हात र भान्साको सतह साबुन–पानीले राम्ररी सफा गर्ने र मासुलाई पर्याप्त तापक्रममा पूर्ण रूपमा पकाउने हो भने फूड पोइजनिङको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ।

यसैले विज्ञान र खाद्य सुरक्षाको दृष्टिले हेर्दा, कुखुराको मासु पकाउनुअघि पखाल्नु भन्दा पनि सुरक्षित रूपमा पकाउने र भान्सामा सरसफाइ कायम राख्ने अभ्यास नै सबैभन्दा महत्वपूर्ण मानिन्छ।