काठमाडौं, माघ २७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी (भक्तपुर) मा मतपत्र छपाइको काम भइरहेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कुल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ। छपाइ सम्पन्न भएका जिल्लाका मतपत्रहरू प्याकिङसमेत गरी ढुवानीको तयारी अवस्थामा राखिएको छ। हालसम्म १० हजार ७५९ बाकस मतपत्र प्याकिङ सम्पन्न भइसकेको उनले जानकारी दिए।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र पाँचथर जिल्लाको मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
यसैगरी इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम (नवलपरासी), मोरङ, उदयपुर र मुस्ताङ जिल्लाको पनि मतपत्र छपाइ पूरा भइसकेको आयोगले जनाएको छ।
त्यस्तै लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया गरी जम्मा ४४ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको आयोगले स्पष्ट पारेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष दुवै निर्वाचन प्रणालीअन्तर्गत प्रयोग हुने मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरु गरिएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु गरी माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको छ। ती मतपत्र प्याकिङ तथा रुजु गरेर ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।
त्यसैगरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य लिइएको छ। उक्त मतपत्र छपाइ माघ १६ गते बिहानदेखि सुरु भएको आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगले तोकिएको समयमै सबै निर्वाचन सामग्री तयारी गरी निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने तयारी तीव्र बनाएको जनाएको छ।
