पाकिस्तान–भारत विश्वकप खेल तय, बहिष्कारको निर्णय फिर्ता

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँग खेल बहिष्कार गर्ने यसअघिको निर्णय फिर्ता लिएको छ। अब पाकिस्तानले समूह चरणअन्तर्गत फेब्रुअरी १५...

पाकिस्तान–भारत विश्वकप खेल तय, बहिष्कारको निर्णय फिर्ता

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँग खेल बहिष्कार गर्ने यसअघिको निर्णय फिर्ता लिएको छ। अब पाकिस्तानले समूह चरणअन्तर्गत फेब्रुअरी १५ मा कोलम्बोमा हुने खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।

पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै ‘मैत्रीपूर्ण राष्ट्रहरूको अनुरोध र पछिल्लो सहमतिलाई ध्यानमा राख्दै’ राष्ट्रिय टोलीलाई भारतसँगको खेल खेल्न अनुमति दिएको जनाएको छ।

सरकारका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्वीले प्रधानमन्त्री शहबाज शरीफलाई आईसीसी, बंगलादेश क्रिकेट बोर्ड (बीसीसी) र पीसीबीबीच भएको उच्चस्तरीय छलफलका निष्कर्षबारे जानकारी गराएका थिए। उक्त छलफलपछि खेल बहिष्कारसम्बन्धी निर्णय पुनर्विचार गरिएको हो।

बीसीबीको औपचारिक अनुरोधसँगै श्रीलंका, संयुक्त अरब इमिरेट्स (युएई) लगायत सदस्य राष्ट्रहरूले वर्तमान गतिरोध समाधानका लागि पाकिस्तानको सकारात्मक भूमिकाको अपेक्षा गर्दै पठाएका पत्राचारसमेत सरकारले समीक्षा गरेको जनाएको छ।

यसैबीच बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष अमिन उल इस्लामले व्यक्त गरेको आभारप्रति पाकिस्तानले सकारात्मक प्रतिक्रिया दिएको छ। पाकिस्तानले बंगलादेशसँग सदैव साथ रहने प्रतिबद्धता पनि दोहोर्‍याएको छ।

पछिल्लो पहलअन्तर्गत पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र श्रीलंकाका राष्ट्रपति अनुर कुमार दिसानायकेबीच टेलिफोन संवादसमेत भएको थियो। संवादका क्रममा श्रीलंकाली राष्ट्रपतिले क्षेत्रीय क्रिकेटको हितलाई ध्यानमा राख्दै सकारात्मक निर्णय लिन आग्रह गरेका थिए।

यसअघि राजनीतिक तथा कूटनीतिक कारण देखाउँदै पाकिस्तानले भारतसँगको खेल बहिष्कार गर्ने घोषणा गरेको थियो। तर अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलपछि पाकिस्तानले आफ्नो निर्णय परिवर्तन गरेको हो।