हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–६ स्यालतडीमा भतिजाको कुटपिटबाट काकाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी गरिएको कुटपिटका कारण २८ वर्षीय पुसे लवाडको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ३५ वर्षीय नन्दलाल लवाडले मादक पदार्थ सेवन गरी आफ्नै काका पुसे लवाडमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका पुसे लवाडलाई उपचारका लागि नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्स पठाइएको थियो।
उपचारकै क्रममा पुसे लवाडको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटनापछि फरार रहेका नन्दलाल लवाडलाई प्रहरीले पक्राउ गरेको छ। हुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काका अनुसार जंगलमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।पक्राउ परेका नन्दलाल लवाडविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले जानकारी दिए। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।
