प्रेस चौतारी रामेछापद्वारा पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम म...

प्रेस चौतारी रामेछापद्वारा पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा

रामेछाप । प्रेस चौतारी नेपाल रामेछापले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ । प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा सदरमुकाम मन्थलीमा शनिवार आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा उक्त पुरस्कारको औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले पुरस्कारको घोषणा गर्दै यसको उद्देश्य र महत्वबारे जानकारी गराए ।
उनका अनुसार नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्नप्रसाद गौतमको आर्थिक सहयोगमा उक्त पुरस्कार स्थापना गरिएको हो । समाजसेवी गौतमले वार्षिक एक लाख रुपैयाँका दरले पाँच वर्षसम्म गरी कुल पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले प्रेस चौतारी रामेछापले स्थापना गरेको पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारले पत्रकारिताको गरिमा अभिवृद्धि गर्नुका साथै नयाँ पुस्ताका पत्रकारलाई पेसागत रूपमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले पुष्पलालको विचार, योगदान र सङ्घर्षलाई स्मरण गर्दै समाज रूपान्तरणमा पत्रकारिताको भूमिकालाई अझ सशक्त बनाउनेमा यो पुरस्कार महत्त्वपूर्ण हुने बताए ।

प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकका अनुसार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा हरेक वर्ष साउन ७ गते नगद २० हजार रुपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिनेछ । लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको पक्षमा पत्रकारितामार्फत योगदान पु¥याउने पत्रकारलाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको अध्यक्ष विकले स्पष्ट पारे ।नेपाल कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलाल श्रेष्ठको जन्म विसं १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट भएको थियो । उनको स्मृति दिवसमा श्रद्धा, सम्मान र योगदानको स्मरण गर्दै प्रेस चौतारी नेपाल रामेछापले प्रत्येक वर्ष यो राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कार प्रदान गर्ने जनाएको छ ।