काठमाडौं, माघ २४ । नेपाली कांग्रेसका नेता गगन थापाले चुनावपछि देशमा हिंसा, आगजनी र अराजकता नदोहरिनुपर्ने बताएका छन्। उनले चुनावपछि सिंहदरबार र संसद भवन जल्ने, सरकारको गोलीबाट युवाको ज्यान जाने अवस्था कुनै पनि हालतमा आउन नहुने स्पष्ट पारे।
गोकर्णेश्वरमा सर्लाहीका मतदातासँग आयोजित अन्तरक्रियामा बोल्दै थापाले बदलिएको कांग्रेस विगतका राम्रा कामहरू बोकेर अघि बढेको र विगतमा भएका कमजोरीहरू स्वीकार गरेर आएको बताए।
जे–जति गल्ती कमजोरी भए, त्यसको दोष कसैलाई मात्रै थोपर्ने पक्षमा म छैन। म स्वयं पनि त्यहीँ भित्र थिएँ,” उनले भने, “व्यक्ति वा पात्रलाई दोष दिएर समाज अघि बढ्दैन। हामी एउटै समाजमा बस्ने नागरिक हौँ।
थापाले चुनावपछि पनि देश अगाडि बढ्नुपर्नेमा जोड दिँदै चुनावको परिणाम जे भए पनि सबैलाई मिलाएर लैजाने जिम्मेवारी राजनीतिक दलहरूको रहेको बताए।
उनले भने, “चुनावपछि फेरि कतै आगजनी हुनु हुँदैन, नयाँ बनेका संरचना जल्नु हुँदैन, सरकारको गोलीबाट कुनै युवा मारिनु हुँदैन। चुनावपछि पनि सडकमा आक्रोश पोख्ने अवस्था बन्न दिनु हुँदैन।”
रिस, उत्तेजना र घृणाले देश अघि नबढ्ने उल्लेख गर्दै थापाले सबैलाई समेटेर अघि बढ्ने साहस कांग्रेससँग रहेको दाबी गरे।
