काठमाडौं, माघ २४ । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता पालना गर्न पुनः स्मरण गराउँदै उल्लंघन भए कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
शनिबार सूचना जारी गर्दै कार्यालयले मतदानभन्दा १७ दिन अघिदेखि मात्र प्रचारप्रसार, कोणसभा तथा घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था रहेको उल्लेख गरेको छ। यस विषयमा पटक–पटक छलफल, अन्तरक्रिया तथा सूचना प्रकाशनमार्फत जानकारी गराइए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको पाइएको कार्यालयको भनाइ छ।
कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गर्दै कोणसभा गर्ने, प्रचारप्रसार सामग्री प्रकाशन तथा प्रसारण गर्ने र घरदैलो कार्यक्रममार्फत मतदातालाई प्रभावित पार्ने गतिविधि गरिरहेको भन्ने जानकारी प्राप्त भएको सूचनामा उल्लेख छ। यस्ता गतिविधि नगर्न तथा नगराउन कार्यालयले आग्रह गरेको छ।
निर्वाचन आचारसंहिता उल्लंघन गरी कुनै पनि प्रकारको प्रचारप्रसार गरेको प्रमाण प्राप्त भए प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले चेतावनी दिएको छ।
त्यस्तै, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा केही अनलाइन सञ्चारमाध्यमले मतदाताको गोपनीयता भंग हुने किसिमका गतिविधि गरिरहेको गुनासो आएको निर्वाचन कार्यालयले जनाएको छ।
‘कसलाई मत दिनुहुन्छ’ जस्ता प्रश्न सोध्ने, कसको जित्ने सम्भावना बढी छ भन्ने समाचार प्रकाशन गर्ने, मत सर्वेक्षण गर्ने लगायतका कार्यहरू निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम उल्लंघन हुने भएकाले यस्ता गतिविधि नगर्न/नगराउन आग्रह गरिएको सूचनामा उल्लेख छ।
यस किसिमका गतिविधि जारी रहेमा सम्बन्धित व्यक्ति वा संस्थामाथि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।
