रामेछाप । प्रेस चौतारी रामेछापद्वारा प्रदान गरिँदै आएको प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता पुरस्कार–२०८२ पत्रकार नवराज श्रेष्ठलाई प्रदान गरिएको छ।
हरेक वर्ष माघ २२ गते पर्ने प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा उक्त पुरस्कार वितरण हुँदै आएको छ।
प्रेस चौतारी नेपालको २८ औँ स्थापना दिवसको अवसरमा शनिवार सदरमुकाम मन्थलीमा आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा पत्रकार श्रेष्ठलाई नगद पाँच हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठ र विशेष अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पत्रकार श्रेष्ठलाई सम्मान गरेका थिए।
प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिका सचिव तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका सचिव रहेका श्रेष्ठ विगत झन्डै डेढ दशकदेखि रामेछाप जिल्लामा सक्रिय पत्रकारितामा संलग्न छन्। हाल उनी कान्तिपुर मिडिया ग्रुपअन्तर्गत कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिकमा आबद्ध छन्। साथै, मन्थलीबाट प्रसारण हुँदै आएको रेडियो इनर्जी १०६.२ मेगाहर्जमा समाचार प्रमुख तथा कार्यक्रम संयोजकको जिम्मेवारीमा छन् भने नेपाल तथ्य र तामाकोशी अनलाइन डटकमका कार्यकारी सम्पादकका रूपमा पनि कार्यरत छन्।
समारोहमा सहभागी वक्ताहरूले श्रेष्ठको निष्पक्ष, तथ्यपरक तथा समाजमुखी पत्रकारितामा पु¥याएको योगदानको प्रशंसा गर्दै उनका अनुभव र कार्यशैली युवा पत्रकारहरूका लागि प्रेरणादायी रहेको बताएका थिए।
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष लेखबहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्तरको पुष्पलाल स्मृति पुरस्कार घोषणा गरिएको छ। उक्त पुरस्कार नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा समाजसेवी रत्नप्रसाद गौतमको सहयोगमा हरेक वर्ष साउन ७ गते मनाइने पुष्पलाल स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नवराज पथिकले घोषणा गरे ।
