कांग्रेसले चुनावी गठबन्धन नगर्ने, सबै क्षेत्रमा उम्मेदवार उठाइसकेको दाबी

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मे...

कांग्रेसले चुनावी गठबन्धन नगर्ने, सबै क्षेत्रमा उम्मेदवार उठाइसकेको दाबी

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाइसकेको र चुनावपूर्व कसैसँग पनि गठबन्धन नहुने बताए।

‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गरेको छ। हाम्रो चुनावसँग लक्षित कुनै पार्टीसँग भेटघाट भएको छैन। चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नै उम्मेदवार उठाइसकेका छौँ,’ प्रवक्ता चालिसेले भने, ‘हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। पार्टी सभापतिले पनि यो कुरा सार्वजनिक रूपमा स्पष्ट गरिसक्नुभएको छ। त्यसबाहेक अन्य कुनै भ्रममा नपर्न आग्रह गर्छु।’

प्रवक्ता चालिसेले अधिनायकवादी प्रवृत्तिका शक्तिहरूले आकर्षक र चिप्ला भाषणमार्फत जनतालाई भ्रममा पार्न सक्ने भन्दै सचेत रहन आग्रह गरे। उनले ‘नयाँ’ भन्ने नाममा फैलाइने भ्रमप्रति पनि सतर्क रहनुपर्ने बताए।

उनले केही दलहरूले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेकोप्रति आपत्ति जनाउँदै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए।

यस्तै, विपक्षी दल र नेताहरूविरुद्ध सामाजिक सञ्जाल तथा सार्वजनिक स्थानमा घृणास्पद अभिव्यक्ति र अमर्यादित टिप्पणी बढ्दै गएको भन्दै यसले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरणलाई बिथोलिरहेको प्रवक्ता चालिसेले बताए। कांग्रेस यसप्रति सचेत रहेको र जिम्मेवार राजनीतिक अभ्यासमा प्रतिबद्ध रहेको उनको भनाइ छ।