काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन दुई चरणमा हुन सक्ने भन्ने अभिव्यक्तिबाट पछि हट्दै तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुने स्पष्ट सन्देश दिएकी छन्।प्रधानमन्त्री कार्कीले केही दिनअघि नवलपुरमा आयोजित कार्यक्रममा हिमपात पर्ने क्षेत्रहरूमा २१ फागुनमा निर्वाचन हुन नसके अर्को चरणमा गराउन सकिने संकेत गरेकी थिइन्। यद्यपि उनले सरकारको प्राथमिकता एकै चरणमा निर्वाचन गराउने नै रहेको बताउँदै आएकी थिइन्।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेकपा एमाले र नेकपासहितका दलहरूले आपत्ति जनाएका थिए। विशेषगरी एमाले र नेकपाले सार्वजनिक रूपमा एकै चरणमा निर्वाचन हुनुपर्ने अडान लिएका थिए।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई चरणमा निर्वाचन हुन नसक्ने स्पष्ट अडान व्यक्त गरे। उनले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने सुझाव सरकारलाई दिएका थिए।
यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दुई चरणमा निर्वाचन गर्दा निष्पक्षता कायम नहुने आशंका व्यक्त गर्दै कडा प्रतिक्रिया जनाएका थिए। उनले निर्वाचन एकै दिन सम्पन्न भई तत्काल मतगणना हुनुपर्नेमा जोड दिएका थिए। ओलीले निर्वाचनमा धाँधली भए देशमा गम्भीर परिणाम निम्तिन सक्ने चेतावनीसमेत दिएका थिए।
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको थियो। भेटमा ओलीले एकै चरणमा निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने प्रस्ताव राखेका थिए। बैठकपछि एकै चरणमा निर्वाचन गर्ने विषयमा समझदारी बनेको बैठक स्रोतले जनाएको छ।
दलहरूको आपत्ति र चासोपछि प्रधानमन्त्री कार्कीले २१ फागुनमा एकै दिन निर्वाचन हुने सार्वजनिक सन्देश दिएकी हुन्। मतपत्र छपाइ भइरहेको जनक शिक्षा सामग्री केन्द्रको अवलोकन गर्दै उनले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताइन्।
‘ढुक्क र निश्चिन्त हुनुस्, एकै दिन निर्वाचन हुन्छ। दुई चरणमा हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तोकिनेकै मितिमा निर्वाचन सम्पन्न गरी निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर हामी घर जानेछौं।’
प्रधानमन्त्रीको पछिल्लो स्पष्टिकरणसँगै निर्वाचन एकै चरणमा हुने विषयमा अन्य दलहरू पनि सन्तुष्ट देखिएका छन्।
