काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने आज निर्वाचन क्षेत्र चितवन जाने भएका छन्। तर, उनको खुट्टाको घाउ पूर्णरूपमा निको भएको छैन।
लामिछाने सामाजिक सञ्जालमार्फत आज बिहान चितवन प्रस्थान गर्ने जानकारी दिएका छन्। उनी चितवन क्षेत्र नम्बर २ का उम्मेदवार हुन्। सोमबार पनि चितवन जान खोज्दा चिकित्सकले रोक्नु परेको थियो।
पार्टी स्रोतका अनुसार लामिछानेले खुट्टाको घाउका कारण सहज रूपमा हिँडडुल गर्न सकिरहेका छैनन्। चितवन पुगेपछि पनि तत्काल घरदैलो गर्ने स्थिति नभएको बताइएको छ। हाल उनी बस्ने स्थानमै राजनीतिक भेटघाट गर्ने तयारीमा छन्।
फागुन महिनामा भने लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह संयुक्त रूपमा देशभर दौडमा हुने तय छ। रास्वपा नेतृ प्रतिभा रावलका अनुसार फागुनको पहिलो साता नेताद्वयको संयुक्त चुनावी अभियान सुरु हुनेछ।
पूर्वी नेपालमा रहेका बालेन साह आफ्नो निर्वाचन क्षेत्र झापा ५ र छेउछाउका जिल्लामा रास्वपा उम्मेदवारको प्रचारमा सक्रिय छन्।
लामिछानेको घाउ माघ ४ गते जनकपुरको पहिलो चुनावी सभामा सहभागी हुने क्रममा लागेको थियो। त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन्।
