आगामी निर्वाचनमा सवारीसाधन प्रयोगका लागि नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचन लक्षित गर्दै ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसार र मतदानको...

आगामी निर्वाचनमा सवारीसाधन प्रयोगका लागि नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचन लक्षित गर्दै ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसार र मतदानको दिन सवारीसाधनको प्रयोग व्यवस्थित, मर्यादित र नियन्त्रित गर्ने व्यवस्था गरिएको छ।

राजनीतिक दल, उम्मेदवार वा उनीहरूको प्रतिनिधिले प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न अनुमति लिन सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। अनुमतिपत्र नलिई सवारीसाधन प्रयोग गरेमा वा मौन अवधिमा अनुमति प्राप्त सवारीसाधन प्रयोग गरेमा त्यसलाई नियन्त्रणमा लिएर निर्वाचन समाप्त भएपछि मात्रै फिर्ता गरिनेछ।

"प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। स्थानीय तहका उम्मेदवारका लागि भने नगरपालिका–गाउँपालिका प्रमुख/उपप्रमुख दुईवटा, वडा तहका उम्मेदवार एकवटा सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था छ। सवारीसाधन प्रयोग नहुने क्षेत्रका लागि घोडा प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।"

मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य कुनै सवारी सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। तर, हवाई उडान र अत्यावश्यक सेवा (एम्बुलेन्स, दमकल, दूध ढुवानी, अस्पताल सेवा आदि) का सवारीलाई अनुमति लिनु पर्दैन।

काठमाडौँ जिल्ला भित्र आयोग परिसरमा स्थापना गरिने एकीकृत सवारी आवागमन ‘डेस्क’मार्फत अनुमति प्रक्रिया सञ्चालन हुनेछ भने अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालयले मुख्य निर्वाचन अधिकृतको समन्वयमा अनुमति जारी गर्नेछ। विदेशी नम्बर प्लेट भएका सवारीसाधन चुनाव प्रचारप्रसार प्रयोजनका लागि अनुमति पाउने छैनन्।

कार्यविधिले मौन अवधिलाई मतदानको अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्मको समयावधि तोकेको छ। जिल्ला आचारसंहिता अनुगमन समितिले नियमित अनुगमन गरी उल्लङ्घन देखिएमा सवारीसाधन नियन्त्रणमा लिन स्थानीय प्रशासनलाई निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ।