बाली जोगाउन बाँदर नियन्त्रण अभियान, समात्नेलाई प्रति बाँदर एक हजार प्रोत्साहन

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बढ्दो बाँदर आतङ्कका कारण किसानले खेती गर्नै नसक्ने अवस्था आएपछि वडा कार्यालयले बाँदर नियन्त्रण अभियान सुरु गरे...

बाली जोगाउन बाँदर नियन्त्रण अभियान, समात्नेलाई प्रति बाँदर एक हजार प्रोत्साहन

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बढ्दो बाँदर आतङ्कका कारण किसानले खेती गर्नै नसक्ने अवस्था आएपछि वडा कार्यालयले बाँदर नियन्त्रण अभियान सुरु गरेको छ । वडावासीको सुझाव, सल्लाह र प्रत्यक्ष संलग्नतामा वडा कार्यालयको अगुवाइमा अभियान थालिएको हो ।

वडा अध्यक्ष गोपाल श्रेष्ठका अनुसार बाँदर नियन्त्रणलाई व्यवस्थित र प्रभावकारी बनाउन बाँदर व्यवस्थापन तथा नियन्त्रण समिति गठन गरिएको छ । अभियानअन्तर्गत बाँदर समात्नेलाई प्रति बाँदर एक हजार रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरिएको उनले जानकारी दिए ।

वडा अध्यक्ष श्रेष्ठले भने, “ गाउँमा मानिस घट्दै गएका छन् । बाँदरकै कारण बाँकी रहेका किसानले पनि खेती गर्न नसक्ने अवस्था आयो । बाँदर नियन्त्रण हुन सकेन भने गाउँ नै रित्तिने जोखिम छ ।” चिसापानीका किसानहरूको भेला बोलाएर समिति गठन गरी बाँदर व्यवस्थापन सामूहिक रूपमा अघि बढाइएको उनले बताए । उनका अनुसार सरकारले कृषिमा विभिन्न सहयोग उपलब्ध गराए पनि बाँदर आतङ्ककै कारण किसानले उत्पादन गर्न नसकिरहेको अवस्था छ ।

अभियानको पहिलो चरणमा बाँदर समातेर रङ्ग लगाई छाड्ने, केहीलाई स्थानीय स्तरमै पाल्ने जस्ता कार्यक्रम सञ्चालन गरिने वडा कार्यालयको योजना छ । अहिलेसम्म स्थानीयवासीले तीन वटा बाँदर नियन्त्रणमा लिइसकेको वडा अध्यक्ष श्रेष्ठले बताए । उनले बाँदर आतङ्क चिसापानीमा मात्र नभई देशभरकै साझा समस्या भएको उल्लेख गर्दै भने, “बाँदरकै कारण गाउँ खाली हुने अवस्था बन्नु राम्रो सङ्केत होइन, त्यसैले हामीले नियन्त्रण अभियान सुरु गरेका हौँ ।”

स्थानीयवासीको अनुसार बढ्दो जङ्गल र बस्ती नजिकै फैलिएका रुखका कारण बाँदर नियन्त्रण अझ चुनौतीपूर्ण बनेको छ । स्थानीय भुवनकुमार श्रेष्ठले भने, “बाँदर रुखको टुप्पामा पुग्छ, बूढाबूढीले त धपाउनै सकिँदैन ।” उनका अनुसार वर्षौँदेखि खेती नभएका खेत बारी जङ्गलजस्तै बनेका छन्, जहाँ बाँदर बस्न थालेका छन् । त्यसैले रुख काँटछाँट गर्ने, झाडी पतल्याउने र बारी व्यवस्थापन गर्ने दीर्घकालीन योजना आवश्यक रहेको स्थानीय बताउँछन् ।

बाँदर नियन्त्रणका लागि राज्यले बनाएको योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा बाँदर आतंक झन बढ्दै गएको मन्थली नगरपालिकाका सहायक पशु विकास अधिकृत मुकुन्दकुमार खड्का बताउँछन् । उनका अनुसार बाँदरको समस्या मन्थलीमा मात्र सीमित नभई देशभरकै साझा चुनौती बनेको छ ।

यस समस्यालाई मध्यनजर गर्दै राज्यले चिकित्सकलाई बाँदर बन्ध्याकरणसम्बन्धी तालिमका लागि विदेश पठाएको भए पनि हालसम्म उक्त अभियान कहाँ र कसरी अघि बढिरहेको छ भन्ने विषय स्पष्ट नरहेको खड्काको भनाइ छ ।

खड्काका अनुसार हालको अवस्थामा बाँदरको बिगबिगी रहेका क्षेत्रमा परम्परागत खेती प्रणालीलाई जस्ताको तस्तै निरन्तरता दिनु चुनौतीपूर्ण बन्दै गएको छ । त्यसैले बाँदरले कम रुचाउने बाली तथा बिरुवाहरूको छनोट गरी खेती प्रणालीमा परिवर्तन गर्नु अहिलेको व्यवहारिक विकल्प रहेको उनले सुझाए । उनले बाँदरले खान नचाहने वा क्षति कम गर्ने मसलाजन्य वा अन्य बालीको पहिचान गरी खेती गरेमा किसानको जोखिम केही हदसम्म कम गर्न सकिने बताए ।