बालेन शाहको निजी निवासमा चोरी, सिसीटिभी र डीभीआर लगियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको छ। मेयर शाह र...

बालेन शाहको निजी निवासमा चोरी, सिसीटिभी र डीभीआर लगियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको छ। मेयर शाह र उनकी पत्नी घरमा नभएको बेला चोरहरूले घरमा प्रवेश गरी सिसीटिभी क्यामेरा, डीभीआर मेसिनलगायतका सामग्री चोरेर लगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ बालेन शाहका मामा ससुराका छोरा नियमित रूपमा घरको हेरचाहका लागि पुग्दा चोरी भएको खुलासा भएको हो। उनी घरमा बत्ती बाल्ने–निभाउने तथा बिरुवामा पानी हाल्ने काम गर्दै आएका थिए। साँझ घर पुगेपछि मुख्य ढोका फोडिएको र घरभित्रका सामानहरू अस्तव्यस्त अवस्थामा देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक विवरणअनुसार चोरहरूले घरमा जडान गरिएका २ देखि ३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्सामा जडान गरिएका धाराका टुटीहरू समेत चोरेका छन्। अन्य सामान पनि चोरी भएको हो कि होइन भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोली घटनास्थलमा खटिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले चोरी भएको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धान भइरहेको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो चोरी व्यवस्थित र योजनाबद्ध ढंगले गरिएको देखिएको प्रहरीको भनाइ छ। यस आधारमा घटना ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने आशंका गरिएको छ।

प्रहरीका अनुसार चोरी घटना माघ १४ गतेदेखि शुक्रबार साँझको बीचको समयमा भएको हुन सक्ने अनुमान छ। हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने आसपासका सिसीटिभी फुटेज संकलन र शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र बनाइएको छ। अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।