काठमाडौँ । बाल यौन शोषण र मानव तस्करी प्रकरणमा कुख्यात अमेरिकी धनाढ्य जेफ्री एपस्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी पृष्ठका गोप्य कागजात सार्वजनिक भएपछि अमेरिकी राजनीति मात्र होइन, विश्वव्यापी रूपमा ठूलो तरंग सिर्जना भएको छ। सार्वजनिक दस्तावेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, राष्ट्रपति जो बाइडेन, टेस्ला तथा एक्सका मालिक इलन मस्क, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलगायत विश्वका प्रभावशाली व्यक्तिहरूको नाम उल्लेख भएको पाइएपछि बहस चर्किएको हो।
अमेरिकी न्याय मन्त्रालयले शुक्रबार ती कागजात सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बीबीसीका अनुसार सार्वजनिक गरिएका फाइलमा करिब १ लाख ८० हजार तस्बिर र झण्डै २ हजार भिडियो समावेश छन्। गत वर्ष पारित कानुनअनुसार हालसम्मकै सबैभन्दा ठूलो मात्रामा एपस्टिनसम्बन्धी कागजात सार्वजनिक गरिएको हो, यद्यपि तोकिएको समयभन्दा झण्डै ६ हप्ता ढिला गरी ती फाइल सार्वजनिक भएका हुन्।
न्याय मन्त्रालयको दाबी
अमेरिकी उपमहान्यायाधिवक्ता टोड ब्लेन्चले सबै कागजातको पहिचान, समीक्षा र पारदर्शिता सुनिश्चित गर्ने प्रक्रिया पूरा भएको दाबी गरेका छन्। उनका अनुसार सार्वजनिक फाइलमा एपस्टिनको जेल जीवन, मानसिक स्वास्थ्यसम्बन्धी प्रतिवेदन, जेलमै रहँदा भएको मृत्युको विवरण तथा उनकी निकट सहयोगी गलिन म्याक्सवेलसम्बन्धी अनुसन्धान सामग्री समावेश छन्।
म्याक्सवेल नाबालिकालाई यौन शोषणका लागि सहयोग गरेको अभियोगमा दोषी ठहर भइसकेकी छन् र हाल जेल सजाय भोगिरहेकी छन्।
प्रभावशाली व्यक्तिसँगको सम्बन्ध
सार्वजनिक कागजातमा एपस्टिन र विश्वका विभिन्न प्रभावशाली व्यक्तिहरूबीच भएका इमेल आदान–प्रदान पनि समावेश छन्। तीमध्ये बेलायतका तत्कालीन ड्युक अफ योर्क एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग भएको इमेलले बेलायती शाही परिवारसँग एपस्टिनको नजिकको सम्बन्ध देखाउने उल्लेख गरिएको छ।
इमेलमा बकिङ्घम प्यालेसमा पूर्ण गोपनीयतासहित डिनर गर्ने प्रस्ताव र एक रूसी युवतीसँग भेट गराइदिने कुरा उल्लेख भए पनि ती इमेलमा कुनै गैरकानुनी गतिविधिको प्रत्यक्ष प्रमाण भने भेटिएको छैन।
यसैगरी, सन् २००९ मा एपस्टिनले बेलायती राजनीतिज्ञ लर्ड पिटर म्यान्डेलसनका पति रेनाल्डो अविला दा सिल्भालाई १० हजार पाउन्ड पठाएको विवरण पनि फाइलमा समावेश छ। उक्त रकम शैक्षिक तालिमका लागि ऋणस्वरूप दिइएको उल्लेख गरिएको छ। म्यान्डेलसनले एपस्टिनसँगको पुरानो सम्बन्धप्रति पछुतो व्यक्त गर्दै कुनै गैरकानुनी गतिविधिमा संलग्न नभएको दाबी गर्दै आएका छन्।
ट्रम्प, बाइडेन र मस्कको नाम
फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सयौँ पटक उल्लेख भएको छ। ट्रम्पले विगतमा एपस्टिनसँग मित्रता रहेको स्वीकार गरे पनि धेरै वर्षअघि नै सम्बन्ध टुटेको र उनका यौन अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन्।
न्याय मन्त्रालयले सार्वजनिक कागजातमा ट्रम्पविरुद्ध आएका धेरै आरोप प्रमाणविहीन र अप्रमाणित रहेको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती आरोपलाई तथ्यगत निष्कर्षका रूपमा लिन नमिल्ने जनाएको छ।
सीएनएनका अनुसार सार्वजनिक फाइलमा राष्ट्रपति जो बाइडेन र इलन मस्कको नाम पनि उल्लेख भएको छ। तर ती उल्लेखहरू सन्दर्भगत र तेस्रो पक्षका दाबी मात्र भएको र कुनै आपराधिक संलग्नता पुष्टि नगर्ने सीएनएनले जनाएको छ।
बिल गेट्ससम्बन्धी दाबी
फाइलमा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससम्बन्धी केही ‘सनसनीपूर्ण’ दाबी पनि भेटिएपछि गेट्सका प्रवक्ताले ती सबै आरोप पूर्ण रूपमा झुटा र हास्यास्पद भएको प्रतिक्रिया दिएका छन्। सार्वजनिक भएका केही इमेल एपस्टिनले आफैं तयार गरेको जस्तो देखिए पनि गेट्सलाई पठाइएको प्रमाण भेटिएको छैन।
सबै फाइल सार्वजनिक भए ?
यद्यपि, एपस्टिनसम्बन्धी सबै फाइल सार्वजनिक भइसकेका छन् वा छैनन् भन्ने विषय अझै विवादित छ। डेमोक्र्याट सांसदहरूले न्याय मन्त्रालयले अझै लाखौँ कागजात लुकाएको आरोप लगाएका छन्।
सार्वजनिक गरिएका धेरै कागजातमा कालो मसीले काटिएको (रेड्याक्सन) भाग देखिन्छ। कानुनअनुसार पीडितको पहिचान वा जारी अनुसन्धान सुरक्षित गर्न मात्र यस्तो काटछाँट गर्न पाइने व्यवस्था भए पनि शक्तिशाली व्यक्तिहरूलाई जोगाउन षड्यन्त्र गरिएको आशंका अझै पूर्ण रूपमा मरेको छैन।
न्याय मन्त्रालयले महिलालाई दुर्व्यवहार गर्ने पुरुषहरूको नाम स्पष्ट रूपमा देखिने प्रमाण नभएको जनाएको छ। मन्त्रालयका अनुसार त्यस्ता प्रमाण भएको भए अभियोजन गरिसक्ने थियो।
एपस्टिन को हुन् ?
जेफ्री एपस्टिन र उनकी बेलायती प्रेमिका गलिन म्याक्सवेलले दशकमैदेखि अमेरिकी तथा अन्तर्राष्ट्रिय स्तरका धनाढ्य र शक्तिशाली व्यक्तिहरूका लागि किशोरीहरू ‘व्यवस्था गर्ने’ गरेको आरोप लाग्दै आएको थियो। उनीहरूको न्यूयोर्क र फ्लोरिडाको पाम–बिचस्थित महल तथा क्यारेबियनको निजी टापुमा यस्ता गतिविधि हुने गरेको बताइन्छ।
एपस्टिन सन् २००६ मा पहिलोपटक नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ परेका थिए। उनलाई १८ महिना जेल सजाय सुनाइए पनि राजनीतिक पहुँचका कारण विवादास्पद रूपमा दैनिक १६ घण्टा जेलबाहिर काम गर्न पाउने सुविधा दिइएको थियो। उनी १३ महिनामै रिहा भए।
सन् २०१९ मा ट्रम्पको पहिलो कार्यकालका बेला एपस्टिन पुनः पक्राउ परे। तर सोही वर्ष उनले जेलभित्र आत्महत्या गरे। धेरैले उक्त मृत्यु आत्महत्या नभई हत्या भएको आशंका व्यक्त गर्दै आएका छन्।
अझै अधुरो रहस्य
एपस्टिन फाइल सार्वजनिक भए पनि ‘ग्राहक सूची’ लगायत धेरै प्रश्न अझै अनुत्तरित छन्। कालो मसीले काटिएका कागजात, सम्पादित भनिएको सिसिटिभी फुटेज र विरोधाभासी राजनीतिक दाबीहरूले एपस्टिन प्रकरणको सत्य पूर्ण रूपमा बाहिर आयो कि आएन भन्ने बहस अझै जारी रहने संकेत देखिएको छ।
